मुलुक दुर्घटनाबाट बच्यो
सम्पादकीय
नेपाली जनताको बलिदानीबाट स्थापना भएको प्रतिनिधिसभा संसद् आइतवारबाट विघटन भएको छ । मुलुककै ठुलो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र अर्को नेता माधव कुमार नेपालको घेरावन्दीका कारण प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद् विघटन गरेको छ । स्थिर सरकार बनेको समयमा पनि पार्टीबाटै घेरावन्दीमा परेका प्रधानमन्त्री ओलीले नयाँ जनादेशको बाटो खुला गरेका छन् । लोकतन्त्रमा निर्वाचनबाट ताजा जनादेश स्वीकार्य पनि हुन्छ । संसद् विघटनलाई लिएर देशभर भइरहेको विरोध एकातिर छ । अर्कातिर, मुलुकको भविष्यमाथि खेलवाड हुने खतरा बढेपछि संसद् विघटन गरिएको छ ।
दुई ठुला पार्टीबिचको एकता पछि नेकपा बन्यो । नेकपा बनेपछि जनताको आशा र भरोसा पनि उत्तिकै बढ्यो । सरकारले विकास निर्माणको महाअभियानलाई तीब्र गतिमा अघि बढाइरहेको थियो । यहि समयमा प्रचण्ड र नेपाल समूहले प्रधानमन्त्री विरुद्ध बुनेका योजनाले देश खतरामा धकेलिने अवश्य थियो । पार्टी सञ्चालनलाई प्रभावकारी बनाएर सरकारबाट जनताको सपना साकार पार्नुको सट्टा उल्टो बाटो हिडेका प्रचण्ड र नेपाललाई ओलीले निर्वाचनमा जान आदेश दिएका छन् । निर्वाचनले नयाँ जनादेश पक्कै ल्याउने छ । र, नेपाली जनताले प्राप्त गरेको उपलब्धीलाई संरक्षण गरिनेछ ।
संसद् विघटन हुनुको मुख्य कारण प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वासको प्रस्ताव र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्धको महाअभियोग नै हो । उनीहरु विरुद्ध प्रचण्ड–नेपाल समूहका ९० जना सांसद्ले आइतवार विहानै अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । कुनै पनि हालतमा ओली विरुद्ध षड्यन्त्र गरेर देश कब्जा गर्ने खेल असफल भइसकेको छ । अन्तराष्ट्रिय शक्तिको आडमा प्रधानमन्त्री विरुद्ध भइरहेको षडयन्त्रले मुलुकको भाग्य र भविष्यमाथि भयानक दुर्घटना निम्त्याइसकेको थियो । जसलाई रोक्न प्रधानमन्त्रीले संसद् नै विघटन गर्न बाध्य भए । अब, जनताले पक्कै फैसला गर्नेछन् । व्यवस्था उल्टाउने दाउलाई गणतन्त्रवादीले रोकेका छन् । ठुलो दुर्घटनाबाट देश बचेको छ ।