जेष्ठ १, २०८२ बुधबार

मुलुकलाई द्वन्दबाट बचाउन संसद् विघटन : मुख्यमन्त्री राई

बिर्तामोड । प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले मुलुकलाई फेरि द्वन्दमा धकेल्ने प्रयास गरेपछि संसद् विघटन भएको बताएका छन् । उनले संसद् विघटन दुखद् भए पनि अब नयाँ जनादेशका लागि तयारी हुनुपर्ने बताए ।

भद्रपुर –१० स्थित कलवलगुरीमा प्रदेश प्रशिक्षण केन्द्रको समुद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई दुर्घटनाबाट बचाउन संसद् विघटन गरेको बताए । उनले प्रधानमन्त्री ओलीलाई अविश्वास प्रस्ताव दर्ता गरेको र राष्ट्रपति विरुद्ध महाअभियोग लगाउन षडयन्त्र गरेको बताएका छन् । एउटा बन्द कोठामा राखेर विरालो कुट्दाको परिणाम सार्वजनिक भएको जिकिर गर्दै राईले प्रचण्ड र नेपाल समूहको कारण संसद् विघटन भएको आरोप लगाए । उनले यसलाई प्रतिगन भन्न नमिल्ने भन्दै, लोकतन्त्रको सुन्दर पक्ष निर्वाचनमा जुट्न आग्रह गरेका छन् ।

प्रशिक्षण केन्द्रलाई नमूना बनाइने
केन्द्र सरकारको मातहतमा रहेको पुरानो प्रशिक्षण केन्द्र प्रदेश सरकारले सञ्चालन गर्ने भएको छ । मन्त्रीपरिषद्ले प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि आज एक कार्यक्रमका बिच मुख्यमन्त्री राईले उद्घाटन गरेका छन् । उनले अब प्रदेश सरकारले प्रशिक्षण केन्द्रलाई नमुना प्रशिक्षण केन्द्र बनाइने बताएका छन् ।

गुणस्तरीय प्रशिक्षण केन्द्रको रुपमा विकास गर्दै कलवलगुरीमा रहेको सो प्रशिक्षण केन्द्रलाई उत्कृष्ट बनाइने उनको भनाई छ । प्रदेशभरका पालिका, जनप्रतिनिधि, कर्मचारी र अन्य क्षेत्रका नागरिकलाई समेत प्रशिक्षण प्रदान गरिने बताइएको छ । २०१९ सालमा स्थापना भएको केन्द्र संघीय प्रणाली बमोजिम प्रदेश मातहतमा आएको हो । समुद्घाटन कार्यक्रममा प्रदेश सांसद् बसन्त बाँनिया, जिसस प्रमुख सोमनाथ पोर्तेल, केन्द्रका निर्देशक गणेश तिम्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : पुष ६, २०७७ सोमबार  १ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]