बैशाख २९, २०८२ सोमबार

कृषिथोकको बिजोग

सम्पादकीय

झापाको व्यापारीक केन्द्र बिर्तामोडमा रहेको कृषिथोक बजार अभिभावक बिहीन जस्तै छ । स्थानीय , प्रदेश र केन्द्र सरकारको बलियो साथ नपाएको कृषिथोक बजार जिम्मेवार अभिभावक नपाउँदा अव्यवस्थित बनेको छ । बजार क्षेत्रमा दैनिक करोडौंको कारोवार हुन्छ । कारोवारको तुलना गर्ने हो भने त्यहाँ भित्रको व्यवस्थापन शून्य छ । स्थानीय तहकै काँधमा कृषिथोकलाई नसुम्पिएसम्म बजारको बिजोग नै रहिरहने देखिन्छ । बिर्तामोड नगरपालिकाको स्वामित्वमा अझै ल्याउन सकिएको छैन । अहिले कृषि मन्त्रालयको विभाग अन्तरर्गत रहेको बजारमा असाध्यै वेथिती छ ।

कृषिथोक बजारमा व्यापारीको हालीमुहाली छ । बजारको व्यवस्थापकीय जिम्मेवारी लिएको कृषिथोक उपज बजार पनि व्यवसायीको ‘अण्डर’ मै छ । व्यवसायीको आफ्नै ताल छ । त्यहाँभित्रको निर्माण र व्यवस्थापनका लागि व्यवसायीको पक्षबाट कुनै पहल हुन सकेको छैन । किसानले उत्पादन गरेका कृषि वस्तुमा आफ्नै मुल्य लाद्न उद्दत व्यापारीले कृषिथोक बजार व्यवस्थापनमा प्रभावकारी पहल गर्न जरुरी छ । व्यवसायीले व्यापारलाई मात्र महत्व दिएकाले कृषिथोकको विकास अघि बढ्न सकेन । अहिले पनि बजारको हरिविजोग छ ।

नजिकै रहेको बुधबारे हटियाको उस्तै हाल छ । कृषिथोकको कारण ओझेलमा परेको बुधबारे हटिया पनि व्यवसायीकै कब्जामा छ । सस्तोभन्दा सस्तो भाडामा बसेका व्यवसायीहरुले कम्तिमा त्यहाँको बिकास र प्रवद्र्धनमा चासो दिनुपर्ने हो । बिर्तामोडभित्र एउटै सटरको भाडा मासिक ३ लाखसम्म छ । तर, त्यहि कृषिथोकमा दैनिक लाखौं कारोवार गर्ने व्यवसायी हजार, १२ सय मात्र भाडा बुझाउन् । उनीहरुले भाडा सुविधामा त्यो भन्दा सहुलिय पाउने लगभग ठाउँ छैन । तर, सहुलियतमा बसेका व्यापारीले बजारको माया गरेनन् । अहिले पनि बजार दुर्गन्धित छ । जताततै ढल बगिरहेको छ । फोहोरका डिंगुरले कृषिथोक कुरुप भएको छ । यसर्थ, बिजोग अवस्थामा रहेको बजारलाई थितिमा ल्याउन आवश्यक छ । बजारमा व्यवसाय अनुरुपको भाडा तोकेर राज्य पक्षबाट संरक्षण हुन जरुरी छ ।

प्रकाशित मिति : पुष ९, २०७७ बिहीबार  ९ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]