किसानलाई राहत
सम्पादकीय
सरकारले किसानलाई मल उपलब्ध नगराएको गुनासो वर्षौदेखि सुनिएको छ । विगतका सरकारहरुले किसानलाई उपलब्ध गराउन सकेनन् । यो सरकारमा कृषि मन्त्री बनेका घनश्याम भुसालले पनि किसानलाई मल ल्याउने आशा मात्रै दिए । उनी अहिले राजीनामा दिएर विदा भैसकेका छन् । मल नपाएका नेपाली किसानले यो वर्ष पनि उल्लेख्य धान उत्पादन गरे । मलको अभावमा पनि किसानले उत्पादनलाई घट्न दिएनन् । बरु, उत्पादन बढाए । वर्षौदेखिको मलको समस्या समाधान हुने आशा अझै कायमै छ ।
मल अभावको समस्या एकातिर छ । तर, सरकारले किसानलाई धानको उचित मुल्य तोकिदियो । धानको समर्थन मुल्यमा सन्तुष्ट रहेका किसान व्यापारीसँग ठगिनु परेको छैन । खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिडेटमा धान विक्रि गर्ने किसानको घुँइचो छ । विगत वर्षमा भन्दा धान विक्रि गर्न आउने किसानको संख्या उल्लेख्य छ । उत्पादन राम्रो, मुल्य पनि राम्रो हुँदा किसान फुरुङ्ग छन् । उनीहरुलाई हरेक वर्ष मलको अभावले सताउँछ । तर, यो वर्ष उचित मुल्य दिएर सरकारले राहत प्रदान गरेको छ । गाउँ–गाउँबाट किसानले धान विक्री गर्न शहरसम्म ल्याएका छन् ।
सरकारले सोना मंसुलीको २८८५ र रन्जितको २८९० रुपैयाँ समर्थन मुल्य तोकेको छ । व्यापारीले दिने मुल्यमा भन्दा सरकारले दिने मुल्यमा किसानलाई राहत छ । यसैले आगामी वर्षहरुमा किसानको खेतैमा पुगेर सरकारले धान खरिद गर्ने व्यवस्था मिलाउनु पर्छ । गाडिको प्रयोग गर्न सक्ने किसानले मात्रै खाद्यसम्म धान ल्याउन सके । नसक्ने किसानहरु सस्तो मुल्यमा व्यापारीलाई नै दिन बाध्य छन् । गाउँ–गाउँमा खरिद केन्द्र स्थापना गरेर सरकारले किसानलाई सरकारकै मुल्यमा धान विक्री गर्ने वातावरण मिलाउन जरुरी छ । सरकारले आगामी वर्षमा मलको समयमै प्रवन्ध गर्न सके किसानको ठुलो समस्या समाधान हुने थियो ।