नेकपा विभाजनले चलायमान
सम्पादकीय
सत्तारुढ कम्युनिष्ट पार्टी (नेकपा) कानुनतः बाहेक विभाजित बनिसकेको छ । विभाजनले कानुनी मान्यता पाएको छैन । तर, सारमा नेकपा विभाजित भइसकेको छ । विभाजनको औपचारिक घोषणा मात्रै गर्न बाँकी रहेको नेकपा अहिले देशभर गाउँगाउँसम्म चलायमान भएको छ । तत्कालिन माओवादीलाई एमालेमा मिसाएर नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाइएको थियो । एकताको विट नमार्दै पार्टीभित्र शुरु भएको आन्तरिक विवादले नेताहरु विभाजित भइसकेका छन् । त्यसको प्रभाव स्वरुप फरक–फरक अभियान चलाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुई बाटोको यात्रामा छन् । केपी ओली नयाँ जनादेशका लागि जनताको बिचमा जाने घोषणा पछि निर्वाचनको तयारीमा जुटेका छन् । यता, प्रचण्ड नयाँ जनादेशका लागि जनतामा जाने , निर्वाचनका विरुद्धमा देशव्यापी अभियानमा छन् । प्रचण्डको अभियानलाई माधव कुमार नेपाल, झलनाथ खनालले साथ दिइरहेका छन् । दुई नेताको बाटो र उदेश्य मिलेको छैन । तथापि, पार्टीको अभियानमा सक्रियता पूर्वक सहभागी छन् । जसले नेकपालाई चलायमान बनाएको छ ।
एकतापछि पार्टी गतिविधि शून्य थियो । तीन वर्षसम्म पार्टी सुस्त भएको थियो । पार्टीको जिम्मा प्रचण्डलाई नै थियो । सरकारको जिम्मा ओलीलाई प्रदान गरिएको थियो । दुई नेताको गन्तव्य नमिलेपछि देश दौडाहामा निस्किएका छन् । अधिकतम नेता कार्यकर्तालाई आफ्नो समूहमा राख्ने अभियान चलिरहेको छ । पार्टीहरु भित्र गतिशिलता र सक्रियताको खाँचो छ । प्रतिनिधि सभा विघटनपछि सबै राजनीतिक दल सक्रिय भएका छन् । यो प्रकरणले नेकपालाई मात्र होइन सबै दल चलायमान भएका छन् । अब, जनताका सामु दलहरुको परीक्षण जरुरी छ । यसका लागि आगामी निर्वाचन स्वीकार गर्नुको विकल्प छैन ।