भाक्काको खोज जरुरी
सम्पादकीय
चामलबाट बनाइने राजवंशी समुदायको विशेष परिकार भाक्का पुरानै खाद्य परिकार हो । राजवंशीको बसोवास रहेको झापामा संभवतः भाक्का नबुझेको र नखाएको कमै हुन सक्छन् । यसलाई पछिल्लो केहि वर्षयता दिवसका रुपमा पनि मनाउन थालिएको छ । हरेक वर्ष पुस २९ लाई राष्ट्रिय भाक्का दिवसकै रुपमा मनाउन थालिएको छ । कोचिला ग्राभुर फ्रन्टले चौथो भाक्का दिवस भर्खरै मनाएको छ । राजवंशी समुदायका युवा आवद्ध रहेको ग्राभुर फ्रन्टले सो दिवसको अगुवाई र आयोजना गर्दै आएको छ । भाक्का दिवसको आयोजना राजवंशी समुदायले गरे पनि यो दिवस सबैको साझा दिवस बन्न थालेको छ ।
राजवंशी जाति झापामा आदिवासी समुदाय हो । आफ्नै भाष, संस्कृति रहेको राजवंशी समुदायको परिकार पनि ऐतिहासिक छन् । भाक्का जस्तै, भुजा, गाजी मुरी र पिठ्ठ लगायत दर्जनौ परिकार यो समुदायको पुरानो परिकार हो । अहिले भाक्काको संस्थागत विकास गर्ने गरि राजवंशी समुदायको अगुवा युवा क्रियाशिल भएका छन् । उनीहरु भाक्काको इतिहास खोज गर्न तत्पर भइरहेका छन् । भाक्का आफैमा विशेष परिकार मानिन्छ । सबैले रुचाएको भाक्का पूर्वी तराईको खाजा नै बन्न थालेको छ । तर, भाक्का सडकदेखि माथि उठ्न सकेको छैन । यसलाई सबै तहमा होटल रेष्टुरेन्टसम्म पु¥याउने अभियान समेत थालिन आवश्यक छ ।
तात्तातै खान पाइने भाक्का विशेष गरि चिसो मौसममा बनाइन्छ । वास्पीकरण विधिबाट बनाइने भाक्का आफैमा अर्गानिक खाद्य परिकार हो । यसले स्वाथ्यमा समेत कुनै असर नगर्ने जानकार बताउँछन् । वर्षौदेखि भाक्का खादैं आइएको छ । यसबारे सामान्यतय सबैलाई जानकारी छ । तर, यसको शुरुआत र यसको इतिहास खोजी भएको छैन । यस्तै–यस्तै परिकारहरु अहिले लोप बन्ने अवस्थामा छन् । होटल रेष्टुरेन्टहरुमा पश्चिमा सभ्यतामा खाद्य परिकार मेनुमा पाइन्छ । स्थानीय जातजाति, नेपाली संस्कृतिसँग जोडिएका खाद्य परिकार पनि लोप बन्ने स्थितिमा पुगेको छ । यसैले भाक्काको संरक्षण र संवद्र्धनमा सबैको योगदान हुन जरुरी छ । यसको इतिहास खोजमा राजवंशी समुदाय त्यसमा पनि युवाहरुको अग्रसरता प्रसंशनीय छ ।