भद्रपुरको कपास उधोगमा आगो लाग्दा १२ लाख क्षति
भद्रपुर – झापाको भद्रपुर-५, बसपार्कस्थित एक कपास उद्योगमा आगलागी भएको छ। रामचन्द्र सनहीले सञ्चालन गर्दै आइरहेको कपास उद्योगमा आगलागी हुँदा अन्दाजी १२ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको धनमाल क्षति भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन्।

प्रहरीका अनुसार आगलागीबाट उद्योगमा रहेको एउटा मेसिन र ५७ बोरा कपास जलेर नष्ट भएको छ। आगलागीको कारण भने खुलेको छैन। मङ्गलबार दिउँसो ३ बजेर ४० मिनेट उद्योगमा आगो लागेको थियो। उद्योगमा लागेको आगो स्थानीयवासी, प्रहरी र भद्रपुर नगरपालिकाको दमकल प्रयोग गरी ४ बजेतिर नियन्त्रणमा लिइएको हो।