नेपाल आइपुग्यो १० लाख डोज कोरोना भ्याक्सिन : पाँचदिनभित्र सबै जिल्लामा पुर्याइने

काठमाडौं,९ माघ – भारत सरकारले अनुदानस्वरुप दिएको १० लाख डोज कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आइपुगेको छ । अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्च्यिुट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाल ल्याइएको हो ।
खोप बोकेको एयर इन्डियाको विमान बिहिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यी खोपहरु आजै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नुभएको छ।
विमानस्थलबाट प्राप्त खोपलाई सीधै टेकुको केन्द्रिय खोप भण्डारणसम्म लगिएको छ । रकारले खोपलाई शुक्रबार प्रदेशको खोप भण्डारण स्थलसम्म लग्दैछ । जिल्लागत विवरण सरकारले विहिबार साँझसम्म तयार पार्दैछ ।पाँच दिनभित्र सबै जिल्लामा खोप पुर्याउने तयारीमा सरकार जुटेको छ ।
उक्त खोप पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने सरकारको तयारी छ ।
भारतले खोप कुटनीतिअन्तर्गत आफ्ना छिमेकीलाई अनुदानमा खोप वितरण गरेको छ । मालदिभ्स, बंगलादेश, नेपाल र भुटानले अनुदानमा खोप प्राप्त गरेका छन् ।