रंगशालाको जग्गा फिर्ता गराएकोेमा झापाली फुटवल क्षेत्र उत्साहित
बिर्तामोड । डोमालाल राजवंशी रंगशालाको जग्गा फिर्ता गराएकोमा झापाका तीन वटा संस्थाले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलप्रति कृतज्ञता जनाएका छन् । झापा ११ फुटबव क्लवका अध्यक्ष जलकुमार गुरुङ, झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत र झापा फुटबल क्लव विर्तावजारका अध्यक्ष गजेन्द्र पौडेलले बिहीवार विज्ञप्ति जारी गरेर महान्यायाधिवक्ता खरेलप्रति कृतज्ञता जाहेर गरेका हुन् ।

महान्यायाधिवक्ता खरेलको पहलमा अनारमनी दुर्गा स्थान गुठीको जग्गा केशवप्रसाद विमलीले फिर्ता गरेका हुन् । २०७७ माघ १२ गते भुमिसुधार तथा मालपोत कार्यालय झापामा विमलीले ‘हक छाड सनाखत’ गरी जग्गा फिर्ता गरेका छन् । विमलीले आमा टीकादेवी विमलीको नाममा मोही खरिद गरिएको र आमाको मृत्यु भएकाले आफु एक मात्र हकवाला भएकाको हुँदा जग्गा फिर्ता गरेका हुन् ।
२०५२ सालभन्दा अघि तत्कालिन अनारमनी गाउँ विकास समितिले सञ्चालन गरेको अनारमनी दुर्गा गुठी स्थानको जमिन त्यसपछि गाविसले गठन गरेको गुठी समितिले आवश्यक संरक्षण गर्न नसक्ता सर्वोच्च अदालतबाट समेत मोही प्राप्तिको फैसला भएकोमा २०७७ माघ १२ गते मोही हक गुठीकै नाममा हस्तान्तरण भएको छ ।
झापा ११ फुटबल क्लवका महासचिव गणेशप्रसाद पोखरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मिति २०७७ भदौ ३१ गते दिएको दिवेदनको अख्तियारले कार्वाही अगाडि बढाउँदा जग्गा फिर्ता भएको हो । ‘विर्तामोड नगरपालिकामा झापा ११ फुटबल क्लवको तर्फबाट महासचिव पोखरेलले २०७६ फागुन ६ गते रंगशाला निर्माण र जग्गा फिर्ताका लागि निवेदन दिनु भएको थियो । ०७७ माघ १३ गते विर्तामोड नगरपालिकाले पत्रकार सम्मेलन गरेर डोमालाल राजवंशी रंगशाला बनाउन पहल गर्छौं भनेकोमा भने हामी झापाली खेलाडी तथा खेलप्रेमीहरु उत्साहित छौं । र, भने अनुसार काम गर्न आग्रह गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘अतः राज्यको स्वामित्वको तर विभिन्न कारणले व्यक्तिको नाममा पुगेको जग्गा फिर्ता गर्नका लागि आवश्यक पहल गर्नु भएकोमा झापा ११ फुटबल क्लव, झापा फुटबल क्लव विर्तावजार र झापा गोल्डकप तथा स्थानीय बासिन्दाको तर्फबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेलज्युप्रति हार्दिक कृतज्ञता जाहेर गर्दै यो स्थानमा ‘डोमालाल राजवंशी रंगशाला’ बनाउने विषयमा उहाँको सक्रिय पहलकदमीको समेत अपेक्षा गरेका छौं । उहाँले रंगशाला बनाउनका लागि गुठी संस्थानबाट रंशगालाका लागि भोगाधिकार ल्याउने विषयमा समेत पहल गरिरहनु भएको पत्रकार मित्रहरुलाई जानकारी गराउन चाहन्छौं । यो पुनित कामका लागि सक्रिय सबैमा हार्दिक आभार व्यक्त गर्दछौं ।’
कित्ता नम्वर १२०, ८२२, ८२५ र ८१५ को जग्गा क्रमशः १ विगाहा २ कठ्ठा १० धुर, ६ कठ्ठा, १३ कठ्ठा र ७ कठ्ठा ८ धुर जग्गाहरुबाट प्राप्त हुने जग्गाहरुको हकमा केशवप्रसाद विमलीले उक्त जग्गाहरु अनारमनी दुर्गा स्थान राजगुठी संस्थानकै नाममा दाखिला दर्ता गरी दिने गरी मोहीको हक लाग्ने जग्गा गुठी संस्थानलाई हक प्रदान गर्न सहमत भएर निवेदन दिएका छन् । सोही निवेदन अनुसार मालपोतबाट मोही लगत कट्टा समेत भइसकेको छ । अब कित्ता नम्वर ८२० को ८ कठ्ठा रमेश महर्जनको नाममा र ८१२ को ७ कठ्ठा सूर्यकुमार विमलीको नाममा रहेको छ । त्यसलाई पनि फिर्ता गराउने पहल महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले गरिरहेका छन् ।