खोइ त खवरदारी ?
सम्पादकीय
बिर्तामोड–भद्रपुर सडक खण्डको कालोपत्रेको पखाई लामैं समय देखि थियो । त्यो लामो समयको पर्खाई अब सकिदैछ । केहि दिनयता बिर्तामोडस्थित भद्रपुर रोड क्षेत्र कालोपत्रे भइरहेको छ । कालोपत्रे बन्न थाले पछि स्थानीयबासी र यहाँका व्यवसायी उत्साहित बनेका छन् । बाटो बनाउन खनेको वर्षौ वितेको छ । समयमा बाटो नबनाउदा त्यसको प्रत्यक्ष असर व्यवसायीलाई परेको थियो । जथाभावी खाल्डाखुल्डी थिए । जसका कारण आवतजावत र किनमेलका लागि उपभोक्तालाई असर परेको थियो ।
कालोपत्रेका लागि ०७५ असार २४ गते सम्झौता भएको थियो । एक वर्षभित्र काम सम्पन्न गर्ने गरि आशिष–प्रेरा जेभी ललितपुरले ठेक्का पाए पनि काम पेटी कन्ट्याक्टमा लगाइरहेको छ । अहिले भद्रपुर रोडको काम बिर्तामोडको कञ्चन निर्माण सेवाले गरिरहेको छ । यसअघि राजकिशोर गुप्ताले कामको जिम्मा लिएका थिए । तर, गुप्ताले काम नगरे पछि उनबाट कन्ट्याक्ट खोसेर कञ्चन निर्माणलाई दिइएको थियो । ४.०७ लम्बाई किमि र १६.२ मिटर चौडाई रहेको भद्रपुर रोडमा कुन गुणस्तरमा काम भइरहेको छ ?
धमाधम कालोपत्रेको काम भइरहेको छ । कालोपत्रे गरिएको केहि बेरमै त्यहाँबाट आवतजावत गर्न थालिएको छ । तर, सोच्नै पर्ने विषय भनेको सम्झौता अनुरुप काम भइरहेको छ कि छै ? सम्झौतमा के छ ? काम कस्तो भइरहेको छ ? कालेपत्रे गरेको केहि महिनामा उक्किन थालेको समाचार सुन्न पाइन्छ । त्यसको मुख्य कारण भनेकै कम गुणस्तर हुनु हो । समयमै यस्ता प्राविधिक कुरामा ख्याल गरियो भने संभावित क्षति हुन पाउँदैन । यसैले सडक निर्माणमा आम नागरिकको पैसा परेको हुन्छ । नागरिकको पैसा सहि ढंगले प्रयोग भएको छ कि छैन ? खोजी गर्न जरुरी छ । यसको गुणस्तरीयतामा बेलैमा खवरदारी गरेमा पछि कसैलाई दोष देखाउन पाइने छैन ।