ग्राहक तान्ने होडबाजी
सम्पादकीय
सार्वजनिक यातायातमा यात्रा गर्दा प्रायःसबैले भोगको कुरा हो, तानातान । सहचालकले आफ्नो बसमा चढाउन झोला तान्ने, कोहि–कोहि त यात्रु नै तानिदिन्छन् । यो क्रम विस्तारै कम हुदैछ । छिटपुट यस प्रकारका दृष्य देख्न पाइन्छ । सार्वजनिक बसमा यस्ता असभ्य व्यवहारहरु गरिन्छ । आफ्नो बसमा चढाउने उदेश्यले तानिएको हो । स्पष्ट भन्नुपर्दा, आफ्नो व्यापार बढाउन नै सहचालक यात्रु तान्ने गर्छन् । यस्तै, व्यापारीहरु पनि ग्राहक तान्न विभिन्न किसिमका अफर ल्याइरहेका हुन्छन् । झापामा पनि व्यवसायीहरु बेलाबेला त्यस्ता अफर ल्याउनछन् र व्यापार बढाउने प्रयत्न गर्छन् ।
बिर्तामोड पूर्वको ठुलै व्यसायिक क्षेत्र हो । यहाँ अनगिन्ती व्यापारी र व्यापारिक बजार छन् । पूर्वी नेपालको मुख्य बजार विर्तामोडमा मार्केट थपिने क्रम जारी छ । मोर्केटमा व्यापार बढाउन व्यवसायीलाई समस्या छ । ठुलो लगानी गरेर थालिएको व्यापार बचाउन व्यवसायीलाई दुःख छ । शनिवारदेखि नयाँ मार्केट सिटि सेन्टरमा खाना महोत्सव शुरु भएको छ । महोत्सवको विभिन्न उदेश्यमध्ये एउटा उदेश्य भनेको मार्केटको चहलपहल बढाउने नै हो । बिर्तामोडमा दर्जन बढि व्यवसायीक मार्केट सञ्चालन भइरहेको छ । कुनै स्थापित भइसकेका छन् भने कुनै स्थापित हुने क्रममा छन् ।
ठुला–ठुला मार्केट भए पनि यहाँका धेरै ग्राहक हाफपेन्ट किन्न पनि सिलिगुडी जान्छन् । सिलिगुडीमा पाइने हाफपेन्ट बिर्तामोडमा पनि पाइन्छ । तर, ग्राहक किन भारतीय बजार नै जान्छन् । कपडा मात्र होइन, विभिन्न सामग्री खरिद गर्नसमेत सिलिगुडी जाने गरेको पाइन्छ । सिटि सेन्टरमा शुरु भएको महोत्सवमा चर्चित व्यक्तित्व रमेश प्रसाईले यस्तै प्रसंग उठाएका थिए । किन ग्राहक सिलिगुडी जान्छन् ? उनीहरुलाई यहाँकै व्यापारीले किन रोक्न नसेक्ने ? ग्राहकलाई सहुलियत, गुणस्तर र व्यापारीको मिठो व्यवहारको जरुरी हुन्छ । यदि यो पुरा गर्न सकियो भने ग्राहक तान्न धेरै केहि गर्नुपर्दैन । ग्राहकलाई नियमित आउने बनाउन सकिन्छ ।