मासु व्यापारीको बद्मासी
सम्पादकीय
स्वास्थ्यका लागि स्वथ्यकर खाद्यान्नको आवश्यक पर्छ । खानपानका लागि आवश्यक खाद्य तत्व पनि उत्तिकै सरसफाईयुक्त हुनुपर्छ । सरसफाई भएन भने त्यसले स्वास्थ्यमा नकारात्मक असर गर्छ । झापाको अधिकांश बजारमा माछा मासु व्यवसाय गर्नेहरु सरसफाईलाई खासै ध्यान दिई रहेका छैनन् । जसका कारण आम उपभोक्ता उस्तै माछा मासु उपभोग गर्न बाध्य छन् । माछा मासु व्यवसायीले सरसफाईमा विशेष ध्यान दिन जरुरी छ । सरसफाईमा ध्यान नदिदाँ बजार क्षेत्रमा पनि फोहोर फैलिएको छ ।
माछा मासु व्यापारीका कारण स्थानीय व्यवसायीलाई समस्या भइरहेको छ । सरसफाईमा ध्यान नदिँदा वरपरका व्यापारीलाई व्यापार मै समस्या हुने गरेको छ । मासु व्यापारीबाट उत्पादन हुने फोहोरको उचित व्यवस्थापन हुन सकिरहेको छैन । त्यसले दुर्गन्ध बढाएको छ । बिर्तामोडको कृषिथोक भित्र पनि उस्तै समस्या बढेर गएको छ । त्यहाँभित्र व्यापार गर्ने अन्य व्यवसायीलाई मासुजन्य व्यापारबाट उत्पादन हुने फोहोरले असर गरिरहेको छ । मासु व्यवसायीले फोहोर मैला व्यवस्थापनमा ध्यान नदिएर उपभोक्तामाथि बद्मासी गरिरहेका छन् ।
कृषिथोकसँगै जोडिएको बुधबारे हटियामा मासु व्यवसाय गर्ने स्थल हेर्दा खाइ नसक्नुको छ । गद्गद् हिलोमा त्यहाँका मासु व्यापारी व्यवसाय गरिरहेका छन् । उनीहरु आफै पनि व्यवसाय गर्ने ठाउँलाई व्यवस्थित गरिरहेका छैनन् । राँगा र भैसी काटेर व्यापार गर्नेले त्यहाँबाट निस्किएका हड्डी बसपार्क क्षेत्रमा फाल्दै आएका छन् । बसपार्क प्रवेश गर्ने ठाउँमा कुकुरले हड्डी बोकेर हिडिरहेको देख्न पाइन्छ । यसले वातावरणमा प्रदुषण पैदा गरिहरेको छ । यसैले झापाका सबै व्यवसायीले यस प्रकारका फोहोर व्यवस्थापन गर्न चाँडै योजनाका साथ अघि बढ्न जरुरी छ ।