बैशाख ३०, २०८२ मंगलबार

सिमसार र चुरे संरक्षण गर्न वन मन्त्रालयले थप बजेट छुट्याउने

काठमाडौं : वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका सिमसार क्षेत्र अतिक्रमण हुने तथा नासिँदै गएकाले त्यसको संरक्षणमा सबैले लाग्नुपर्ने बताएका छन्। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व सिमसार दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले जैविक विविधताको संरक्षणका लागि सबै तह र तप्काबाट सिमसार क्षेत्र जोगाउनुपर्नेमा जोड दिए। 

सिमसार क्षेत्र संँगसँंगै चुरे संरक्षण क्षेत्रको पनि दोहन भइरहेकाले चुरे संरक्षणमा ध्यान दिन जरुरी रहेकामा जोड दिँदै उनले सिमसार क्षेत्र तथा  तराई चुरे संरक्षणका लागि मन्त्रालयले अहम्‌ भूमिका खेलिरहेको बताए। 

सिमसार तथा चुरे क्षेत्रको संरक्षणका लागि मन्त्रालयले थप बजेटको समेत व्यवस्थापन गर्ने तयारी गरेको जानकारी उनले दिए। 

कार्यक्रममा वन सचिव डा. विश्वकान्त ओलीले सिमसार क्षेत्रको संरक्षणका लागि मन्त्रालयबाट विभिन्न प्रयास भइरहेको जानकारी दिए। राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीले सिमसारसंँगसँंगै पानीको पनि संरक्षण हुनुपर्ने बताए। 

‘नेपालमा पानीको बढी खपत छ, पानी र सिमसारलाई संँगसंँगै राखेर संरक्षण गर्नु जरुरी देखिन्छ,’ उनले भने। 

वन तथा भूसंरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले सिमसार क्षेत्रको संरक्षणका लागि मन्त्रालयबाट थप बजेट विनियोजन गरी कर्मचारी खटिनुपर्ने धारणा राखे। 

यस वर्ष ‘पानी,  सिमसार  र जीवन’ भन्ने मूल नारासहित विश्व सिमसार दिवस आज मनाइँदै छ।  सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर भएको दिनलाई आधार मानेर नेपालले हरेक वर्ष फेबु्रअरी २ मा दिवस मनाउँदै आएको छ। 

सिमसारको विश्वस्तरमै संरक्षण गर्न सन् १९७१ मा जलपक्षीको वासस्थानसम्बन्धी सिमसार (रामसार) महासन्धि भएको थियो। सो महासन्धिमा १६९ देश सामेल भएका थिए। नेपाल भने औपचारिक रुपमा सन् १९७१ मा महासन्धिको सदस्य बनेको हो। 

विश्वसूचीमा नेपालका १० सिमसार दर्ता भएका छन्। पानी र जमीन मिश्रित दलदल भएका, ओसिला र धापिला घोडाघोडी ताल, रारा ताल, कोशी टप्पु वन्यजन्तु आरक्ष, बीस हजारी ताल, जगदीशपुर जलाशय, शेफोक्सुन्डो ताल, माइपोखरी तथा पोखराका नौ ताल सिमसार क्षेत्रअन्तर्गत पर्छन्। पुराना अध्ययनहरूले नेपालमा सानाठूला गरी करीब चार हजार सिमसार क्षेत्र छन्।

नेपालले पनि सिमसार क्षेत्रको महत्व आत्मसात् गर्दै विसं २०५९ मा जारी गरेको सिमसार संरक्षण नीतिलाई विसं २०६९ मा परिमार्जन र स्वीकृति दिएको थियो। त्यसमा सिमसार र त्यसको वरपर स्रोत संरक्षण गर्न ‘सिमसार कोष’ स्थापना गर्ने नीति अघि सारिएको थियो।

यस्तै राष्ट्रिय सिमसार नीति, २०५९ मा उल्लेख भएअनुसार नेपालको तराईका सिमसार क्षेत्रमा मात्रै ३२ प्रजातिका स्तनधारी जनावर, ४६१ प्रजातिका चरा (तीमध्ये १५ प्रजाति दुर्लभ),  नौ प्रजातिका कछुवा, २० प्रजातिका सर्प र २८ प्रजातिका माछा पाइन्छन्।

प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार  ६ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]