प्रचण्ड समुहका नेकपा नेता पुरीसहित छ जना विरुद्ध सम्पत्ति शुद्धिकरणमा मुद्दा
राजु पोखरेल
दमक । नेपाल कम्युनिष्ट पार्टीका (प्रचण्ड माधव समूह) प्रदेश कमिटी सदस्य रवतराज पुरी ‘गगन’ बिरुद्ध सरकारी सम्पत्ति हडपेको आरोपमा मुद्दा दर्ता गरिएको छ । उनी सहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ अनुसारको मुद्दा दर्ता भएको छ । सीआइबीले दमक–८ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुझाएको प्रतिवेदनका आधारमा विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।
गगन सहित उनकी श्रीमती केशावती पुरी (सिमा), मनमाया पुरी, देवकुमार पुरी, कृष्णकुमार पुरी र संगीता पुरी बिरुद्ध मुद्दा दर्ता गरिएको हो । सरकारी जग्गा हडपेर पुरीले १२ करोड १३ लाख ७२ हजार १७८.८६ रुपैयाँ र श्रीमती केशावती पनि सोही बराबरको अकुत सम्पत्ति आर्जन गरेको ठहर विभागले गरेको छ । त्यस्तै, आफन्त मनमायाविरुद्ध ९९ लाख ४ हजार ७५०.२२ र देवकुमारीविरुद्ध ४६ लाख २४ हजार ८४२.२२ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको छ ।
संगीता र कृष्णकुमारीको हकमा बिर्तामोडमा रहेको ७ रोपनी १ आना जग्गा जफत गर्नुपर्ने भनिएको छ । संगीता र कृष्णकुमारीको नाममा जग्गा भए पनि वास्तविक धनी गगन भएको विभागको अनुसन्धानले देखाएको छ । सीआईबीले गरेको अनुसन्धानमा पुरीले सरकारी कागजात किर्ते गरेको देखिएको छ । उनले राजनीतिक पहुँचका आधारमा दमक ८ बालुवाटारको २४ बिगाह जग्गा हत्याएको दाबी गरिएको छ । प्रहरीले चलाएको कीर्ते मुद्दामा झापा जिल्ला अदालतबाट ७ चैत २०७६ मा धरौटी तिरेर उनी छुटेका थिए ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई पुस १७ गते तारेखमा रिहा गरेको छ । उनी सम्पत्ति शुद्धीकरण विभागको ३९ दिन हिरासतमा बसेका थिए । उनी मंसीर ९ गते पक्राउ परेका थिए ।
दमक–८ को सरकारी जग्गा कीर्ते गरी आफ्नो नाममा हत्याएको आरोपमा पुरी विरूद्धको मुद्दा झापा जिल्ला अदालतमा अहिले पनि विचाराधीन छ । पुरी दमक नगरपालिका–६ का हुन् । उनी नेकपा एक नम्बर प्रदेश कमिटीका सदस्य हुन् । उनी गत स्थानीय निर्वाचनमा दमक नगरपालिकाको मेयरमा उम्मेदवार थिए । उनी २०६४ सालको निर्वाचनमा तत्कालीन जनमोर्चाबाट इलाम २ मा उम्मेदवार थिए ।