वनमारा झारबाट झापामा प्राङ्गारिक मल उत्पादन
बिर्तामोड । झापाका सामुदायिक वन क्षेत्रमा अनियन्त्रित रुपमा फैलिरहेको वनमारा झारबाट प्राङ्गारिक मल बनाउन थालिएको छ ।
वन क्षेत्रलाई नै विकासमा अवरोध गर्ने झार फँडानी गरेर मल बनाउन थालिएको हो । केहि वर्षदेखि झापामा देखिएको झार फँडानी गरेर सामुायिक वनहरुले मल बनाउन थालेका छन् । हल्दिवारीमा रहेको पाथीभरा कालीका सामुदायिक वनका अध्यक्ष चिरन्जीवी पौडेलले वनमारा झारबाट मल बनाउन थालेको जानकारी दिए । उनका अनुसार पहिलो चरणमा पाइलट प्रोजेक्टका लागि मल बनाउने काम भइरहेको छ ।

पाथीभरा कालिकासहित झापाका ४ वटा सामुायिक वनमा अहिले वनमारा झारबाट मल बनाउने काम भइरहेको छ । हल्दिवारीको पाथीभरा, हरियाली, कचनकवलको त्रिवेणी सामुदायिक वन र भद्रपुरको कमलधाप रामपोखरी सामुदायिक वनमा उक्त झारबाट मल बनाउन थालिएको फरेष्ट एक्सनका फिल्ड अधिकृत सञ्जय तामाङले बताएका छन् । उनले वन क्षेत्रमा असर गर्ने झारबाट मल बनाइरहेको बताए । चार ठाउँमा करिव २५/३० टन मल उत्पादन हुने अनुमान गरिएको छ ।
सेतो वनमारा (तिते) झार , प्याङग्री नामक झार लगायतका वनस्पतिबाट मल बनाउन फरेष्ट एक्सनले प्राविधिक सहयोग गर्दै आएको तामाङको जानकारी दिए । प्राविधिक सहयोगसहित मल बनाउन प्रयोग गरिने मेसिन (कुटी) र फँडानी गर्ने जनशक्ती समेत सहयोग गर्दै आएको उनको भनाई छ । वन क्षेत्रकै लागि ठुलो दुस्मन मानिने झारले जलथलमा ठुलो नोक्सान पुर्याइरहेको छ । वनभित्र खुला ठाउँमा फैलिने र बोट विरुवालाई हुर्कनै नदिने प्याङ्गी पश्चिममा दाङसम्म फैलिसकेको बताइएको छ । मेक्सिकोबाट शुरु भएको सो वनमारा झार ओसिलो ठाउँ भएकाले जलथलका जंगलमा धेरै फैलिएको तामाङको भनाई छ । फाँडेर नसकिने झार नियन्त्रणमा लागि निजी र सरकारी क्षेत्र सचेत हुनुपर्ने सरोकारवालाको धारणा छ ।
प्राविधिकहरुका अनुसार सो झार हटाएपछि वन क्षेत्र उक्सिदै जानेछ ।
