जेष्ठ ६, २०८२ सोमबार

कोरोना बीमाको भुक्तानी धमाधम

बिर्तामोड । राष्ट्रिय बीमा कम्पनी लिमिटेड बिर्तामोडले कोरोना बीमाको भुक्तानीलाई तीब्रता दिएको छ । विमितले दावी गरेका आधारमा भुक्तानी भइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीको शाखा कार्यालय बिर्तामोडबाट हालसम्म ३० जना संक्रमितले कोरोना वीमा गरे वापत भुक्तानी लिइसकेका छन् । शाखा प्रमुख विनोद ओझाले २१८ जनाले वीमा भुक्तानीका लागि दावी गरेको बताएका छन् । त्यसमध्ये ११७ जना मात्रै बीमा रकम पाउन योग्य रहेको ओझाले जानकारी दिए । उनले थप ३० जना विमितले कोरोना पोजिटिभ भएको जानकारी गराएको बताएका छन् ।
बिर्तामोडबाट सरकारी कार्यालयका कर्मचारी, विधालयका शिक्षक , कर्मचारी र अन्य व्यक्तिले समेत कोरोना बीमा गरेका थिए । सरकारी स्तरका परीक्षण गर्नेको भुक्तानी छिटै भइरहेको छ, ओझाले भने – अन्य ठाउँमा गरिएको परीक्षणको प्रमाणित गर्ने काम भइरहेको छ ।

बीमा भुक्तानीका लागि दावी गरिए पनि आवश्यक कागजात परीक्षण पछि मात्रै भुक्तानी हुने गरेको छ । झुटो विवरण पेश गरेर दावी गरिएकाले परीक्षणलाई प्रमाणितको कामलाई महत्व दिइएको ओझाको भनाई छ । उनले बिर्तामोडमा दावी गर्नेमध्ये ११७ जनाको फाइल मात्रै स्वीकृत भएको जानकारी दिए ।

बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले १ देखि डेढ महिनाभित्र बीमा रकम भुक्तानी गरिसक्ने योजना रहेको जानकारी दिए । उनका अनुसार हालसम्म लगभग ५० प्रतिशत बीमा रकम भुक्तानी भइसकेको छ । उनले प्राविधिक कारणले ढिलाई भए पनि अब तीब्र गतिमा काम अघि बढाइएको जानकारी दिए । बीमा दावी गर्नेहरुले झुटो विवरण समेत पेश गरेको, दोहोरो दावी गरेका कारण कागजात प्रमाणित गर्न ढिलाई भएको उनको भनाई छ । हालसम्म ३ अर्ब ७६ करोड ८२ लाख ५० हजार भुक्तानी भइसकेको छ ।

प्रकाशित मिति : माघ ३०, २०७७ शुक्रबार  ८ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]