कम्युनिष्ट शासनबाट मात्रै समृद्ध नेपाल : घिमिरे
विर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश १ अध्यक्ष देवराज घिमिरेले कम्युनिष्ट शासनबाट मात्रै समृद्ध नेपाल सुखी नेपालीको अभियान पुरा हुने बताएका छन् । उनले मान्छेले मान्छे भएर बाँच्न पाउन पनि कम्युनिष्ट शासनको जरुरी भएको बताए ।

४८ औं सुखानी स्मृति दिवसको अवसरमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा उनले झापा विद्रोहका पाँच शहिदले देखाएको बाटोमा हिड्नुको विकल्प नरहेको बताए । कार्यक्रममा घिमिरेले त्यहि आन्दोलनको जगमा मुलुक यहाँसम्म आएको भन्दै शहिदको सपना पुरा गर्न सबैले इमान्दार पूर्वक लाग्नुपर्ने धारणा राखे । अध्यक्ष घिमिरेले पार्टीमा समस्या देखिए पनि प्रक्रियाले समाधन गर्दै जानुपर्ने बताएका छन् । उनले निर्वाचनमा गएर ताजा जनादेश ल्याएर वर्तमान समस्याहरु समेत समाधान गर्न सकिने विकल्प भएको बताए । विधि र पद्धति नमान्नेहरुका कारण पार्टीमा समेत समस्या आएको बताएका छन् ।

श्रद्धाञ्जली सभामा नेकपा नेता खगेन्द्र नेपालले मनमोहन र मदन भण्डारीलेले बनाएको पार्टीलाई लथालिङग बनाउने अधिकार कसैलाई नभएको बताए । सुखानीका शहिदले बनाएको पार्टीलाई कमजोर बनाएर आन्दोेलनलाई नै मास्ने खोजिरहेको टिप्पणी गरे । उनले माधव नेपाललाई माओवादी केन्द्र दर्ता गर्न सूझाव समेत दिएका छन् । नेता नेपालले भने, ‘नेकपामा तानातान नगरौं, एमाले बनाएर जाऔं । सुर्य चिन्ह हाम्रै हो ।
जनताले एमाले र सुर्य मागिरहेका छन् । माघव नेपालले बनाएको एमाले नभई केपी ओलीले बनाएको एमाले पार्टी भए पुग्छ ।’
श्रद्धाञ्जली सभामा माइ नगरपालिकाका अध्यक्ष दिपक थेवे, सुखानका शहिदका समकालिन नेता मनकुमार गौतम र पार्टी अध्यक्ष चिन्तन पाठकले सम्बोधन गरेका थिए ।
त्यस्तै, सुखानी सदाहतस्थल पछि शहिद पार्क सालवारीमा नेताहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् । सोहि अवसरमा आयोजना गरिएको शिवप्रसाद शिवाकोटी –झापा विद्रोहका एक कमाण्डर नामक संस्करण संग्रह लोकार्पण गरिएको छ । प्रदेश एकका प्रदेश प्रमुख सोमनाथ प्यासीले सो पुस्तकको लोकार्पण गरेका हुन् । झापा विद्रोहका एक कमाण्डर मानिएका शिवाकोटीको स्मृतिमा संग्रह प्रकाशित गरिएको हो । सुखानी स्मृति प्रतिष्ठान र शिवप्रसाद–कृश्णादेवी युवा फाउण्डेशनले आयोजना गरिएको कार्यक्रममा शिवप्रसाद सहित झापा विद्रोहका योद्धाहरुको चर्चा गरिएको छ ।
डा.नारद भारद्वाज र सोमनाथ दाहालद्वारा लिखित संस्मरण संग्रहमा समकालिन योद्धाहरुले झापा विद्रोहका बारेमा लेखेका छन् ।