आर्थिक प्रतिवेदन पारित नभई पद् हस्तान्तरण गर्न मिल्दैन : महासचिव भण्डारी
विर्तामोड । विर्तामोड वाणिज्य संघको पद् हस्तान्तरण निर्णय विना आयोजना गर्न खोजिएकोमा महासचिव भेषराज भण्डारीले (प्रशान्त) आपत्ति जनाएका छन् । उनले पुरानो समितिको बैठकले निर्णय नगरी पद् हस्तान्तरणको आयोजना गर्नु गलत भएको बताए ।
इजलाससित कुरा गर्दै भण्डारीले भने, ‘पद् हस्तान्तरण बारे बैठकमा निर्णय भएको छैन । अध्यक्ष कुमार भट्टराईले एकलौटी पद् हस्तान्तरणको आयोजना गर्नु बेठिक हो ।’ उनका अनुसार संघको पद हस्तान्तरण अघि नयाँ समितिलाई चलअचल सम्पत्तिसहित आर्थिक प्रतिवेदन पारित गरेर मात्रै कार्यक्रमको आयोजना गर्नुपर्छ । बैठकबाट आर्थिक प्रतिवेदन पारित भएको छैन, भण्डारीले भने – हरहिसाव नगरी कसरी पद् हस्तान्तर गर्न सकिन्छ ?

पद् हस्तान्तरणको विवाद बारे समाचार प्रकाशन भएपछि निर्णय जुटाउन भट्टराईले आज विहान ११ बजे बैठक बोलाएका थिए । साढे १२ बजे सम्म बैठक शुरु नभए पछि भट्टराईले माइन्यूट कब्जा गरेर हिडेको एक पदाधिकारीले इजलाससित बताएका छन् । घरघरमा गएर माइन्यूटमा हस्ताक्षर गराउने खेल भएको छ, हामी स्वीकार गर्दैनौं । उनैले भने, सहमति विना प्रमुख अतिथि समेत निमन्त्रणा गरिएको छ ।
सहमति विना आयोजना गरिएको विर्तामोड उधोग वाणिज्य संघको पद् हस्तान्तरणले आफ्नै समितिभित्र विवाद चर्किएको छ । वाणिज्य संघले सूचना जारी गरेर कार्यक्रमबारे आव्हान गर्नुपर्नेमा लोकतान्त्रिक प्यानलको निर्वाचन परिचालन समितिका सभापति कांग्रेस नेता देउमान थेवेले आव्हान गरेका छन् ।