झापामा नक्कली एमाले आन्दोलनमा
विर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा विपक्षी गठबन्धनले आन्दोलनको घोषणा गरेका छन् । सरकार विरुद्धको आन्दोलनमा एमाले सहित ९ वटा राजनीतिक दलहरु सहभागी भएको सार्वजनिक भएको छ । ९ दलमध्येको एमालेको आधिकारिकता बारे खोजी शुरु भएको छ ।
प्रतिनिधिसभा विघटन विरुद्ध झापामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, बहुल राष्ट्रिय मोर्चा, संघीय लिम्बूवान मञ्च, विवेकशील साझा पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी एक ठाउँ उभिएका छन् । यसै मोर्चामा रहेको भनिएको एमाले (माधव नेपाल ) समूह भएको सार्वजनिक भएको छ । झापाको आधिकारिक एमालेको जिल्ला अध्यक्ष चिन्तन पाठक हुन् । उनले तत्काल कुनै पनि आन्दोलनमा झापा एमालेको सहभागिता नरहेको प्रतिक्रिया दिएका छन् । जिल्ला अधिवेशनबाट अध्यक्ष भएका पाठक नै आधिकारिक भएको बताइएको छ ।

यता, बेदराज रेग्मी एमाले झापाको नक्कली अध्यक्ष भएको टिप्पणी हुन थालेको छ । बाह्रदशी क्षेत्रमा घर भएका रेग्मी पुराना नेता हुन् । माधव समूहको विर्तामोडमा आयोजित भेलाले एमाले समानान्तर कमिटी बनाएको थियो । सो भेलामा कसैले पनि अध्यक्ष हुन राजी नभएपछि रेग्मीलाई जिम्मेवारी दिइएको थियो । तत्कालिन समानान्तर कमिटीका अध्यक्ष रेग्मीको मुलधार माधव समूह हो । एमालेले माधव कुमार नेपाललाई साधारण सदस्यबाटै निष्कासित गरेपछि अब रेग्मीहरु समेत एमाले नहुने नेताहरुको भनाई छ । सामाजिक सञ्जाल मै धेरैले रेग्मीले एमाले अध्यक्ष भएर हस्ताक्षर गरेर आफुलाई नक्कली एमाले सावित गराएको प्रतिक्रिया दिएका छन् ।
झापा एमालेका युवा नेता असारु राजवंशीले रेग्मीहरु विगतदेखी नै कम्यूनिष्ट पार्टी र आन्दोलन सिध्याउन क्रियाशिल भएको बताए । उनले भने, रेग्मीहरुको यो हर्कत नयाँ होइन, उनीहरु कम्युनिष्टभित्रका नक्कली अभियान्ता मात्र हुन् । जनतालाई भ्रम छर्ने काम भएको छ, त्यसमा जनता सचेत हुनुहुन्छ – राजवंशीले थपे ।
रेग्मीलाई रविन कोइराला जिल्ला अध्यक्ष हुँदा कारवाही समेत गरिएको थियो । संवेदनशील घटनामा संलग्न भएको आरोपमा पार्टीले तत्कालिन उपाध्यक्ष लोक बहादुर धिमालको संयोजकत्वमा आयोग बनाएको थियो । सो आयोगले रेग्मीलाई पार्टीबाट निष्कासन गर्न प्रतिवेदन बुझाएको थियो । रेग्मीले आफै आत्मआलोचित भएको पार्टीलाई जानकारी गराएका थिए । उनी विरुद्ध अनेमसंघ पार्टीभित्र आन्दोलित समेत बनेको थियो ।