रोटरी क्लब अफ बिर्तामोड मिडटाउनद्वारा अभियानलाई अहिलेसम्मकै ठुलो सहयोग
बिर्तामोड । एकका लागि एक अभियानलाई रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले १५ लाख १५ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।
अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न क्लबले १५ लाख १५ हजार रुपैयाँ प्रदान गरेको हो । बुधबार आयोजित संक्षिप्त कार्यक्रमका बीच क्लबका अध्यक्ष प्रशान्त भण्डारी (भेषराज) नेतृत्वको रोटरी टोलीले अभियानलाई चेक हस्तान्तरण गरेको छ ।
अभियानका संयोजक महेन्द्रकुमार गिरीले चेक ग्रहण गर्दै रोटरी बिर्तामोड मिडटाउनलाई धन्यवाद दिँदै क्लबको प्रशंसा गरे । क्लबले १०१ थान सिलिन्डरबापतको रकम सहयोग गरेको हो ।
क्लबलाई ललितपुरको हिमालयन डिस्टिलरी प्रालिले १२ लाख ५० हजार रुपैयाँ सहयोग गरेको थियो । क्लबले यसअघि नै अक्सिजन बैंक स्थापनाको उद्देश्यले हिमालयन लगायत कम्पनीसँग सहयोगका लागि अनुरोध गरेको थियो ।

त्यस्तै, नेपाली सेनाका कर्णेल मुक्स याक्थुम्बाबाट ८ थान सिलिन्डरबापतको १ लाख २० हजार रुपैयाँ प्राप्त भएको क्लबले जनाएको छ । बाँकी १० वटाबापतको रकम क्लबका पदाधिकारी तथा सदस्यबाट सहयोग जुटेको हो ।
चेक हस्तान्तण कार्यक्रममा क्लबका सदस्य तथा उद्योगी उमेश डालमिया, चार्टर प्रेसिडेन्ड सन्तोष अग्रवाल, सेक्रेटरी सिद्धार्थ नवीन उप्रेती, डाइरेक्टर गजेन्द्रबहादुर पौडेलको उपस्थिति रहेको थियो । कार्यक्रममा डिस्टिलरीका प्रतिनिधि तथा डिस्टिब्युटर कुमार थापाले कम्पनी सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रोटरीमार्फत अभियानलाई सहयोग गरिएको बताए ।
अभियानलाई अक्सिजन सिलिन्डरबापत सहयोग गर्ने रोटरी क्लब अफ बिर्तामोड मिडटाउन सबैभन्दा ठुलो संस्था भएको छ ।