पत्रकारलाई खोपमा विशेष प्राथमिकता दिन आग्रह
झापा । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारलाई प्राथमिकतामा राखेर कोभिड विरुद्धको खोप लगाउन सरकारसँग आग्रह गरेका छन् । प्रेस काउन्सिल नेपालको प्रदेश १ स्तरीय अन्तरिक्रयामा बोल्दै अध्यक्ष पोखरेलले पत्रकारलाई खोपमा विशेष प्राथमिकता दिन आग्रह गरेका हुन् ।
महासंघका अध्यक्ष पोखरेलले खोप सबै नागरिकको लागि अत्यावश्यक भएको भन्दै फ्रन्टलाइनर पत्रकार प्राथमिकतमा राख्न जोड दिए । उनले नेपाल पत्रकार महासंघले सरकारलाई सोही अनुसार व्यवस्थापन गर्न आग्रह गरेको जानकारी गराएका छन् । पत्रकारलाई खोप व्यवस्थापन गर्न स्थानीय महासंघहरुले जिल्लास्थित प्रशासन कार्यालय र स्वास्थ्य कार्यालयसँग समेत समन्वय गर्न आग्रह गरेका छन् । कोरोना महामारीले अन्य क्षेत्र जस्तै मिडिया क्षेत्र प्रभावित भएकोले पत्रकार राहतका लागि महासंघले सरोकारका निकायसँग समन्वयको काम गरिरहेको पोखरेलको भनाई छ । पत्रकारले सूचना प्रवाह गर्न सकेनन् भने अर्को महामारी सुरु हुने बताउँदै पोखरेलले सरकारले खोप व्यवस्थापनमा चासो दिनुपर्ने बताए । उनले छापा मिडियाले पाउँदै आएको सुविधा वापतको रकम नरोक्न समेत सूझाव दिएका छन् ।

प्रदेश १ का आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले पत्रकारहरुलाई खोप उपलब्ध गराउन प्रदेश सरकारले पहल गर्ने बताएका छन् । उनले पहिलो चरणमा पत्रकारलाई छुट्टै व्यवस्था गर्दा पनि पत्रकारहरुले खोप नलगाएको गुनासो गरेका छन् । मन्त्री कार्कीले भने, पहिले रिक्स मानेर साथीहरुले खोप लगाउनु भएन । शुरु मै लगाउनु भएको थियो भने अहिले ठुलो समस्या रहने थिएन । उनले संक्रमित पत्रकार र समग्र प्रदेशका मिडियालाई सरकारले विभिन्न सहयोगका लागि समन्वय गरिरहेको जानकारी दिए । पत्रकारसँगै जनताको जिउधनको सुरक्षा गर्ने सन्दर्भमा प्रदेश सरकार गम्भीर रहेको प्रतिक्रिया दिएका छन् ।
यस्तै, प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले महामारीबाट प्रभावित पत्रकारलाई सहयोग प्रतिष्ठानले तयारी गरेको जानकारी दिए । उनका अनुसार संक्रमित पत्रकारको अवस्थालाई ध्यान दिई आर्थिक सहयोग गरिनेछ । अन्य पत्रकारको हकमा प्रदेश सरकारको सहयोगमा फेलोसिप कार्यक्रम अघि बढाइने बताए ।
महामारीको सन्दर्भमा मिडिया क्षेत्रमा परेको असर बारे प्रेस काउन्सिलले आयोजना गरेको कार्यक्रममा प्रदेशभरका पत्रकार महासंघका प्रतिनिधि, अग्रज पत्रकार र सम्पादकहरु सहभागी भएका थिए । काउन्सिलका सदस्य गणेश पोखरेलले देशभरको अवस्था बारे जानकारी लिन प्रदेश स्तरीय छलफल अन्तरक्रिया भइरहेको जानकारी दिए ।
सो अन्तरक्रियामा प्रभावित मिडियालाई राहत उपलब्ध गराउनु पर्ने, छापा माध्यमलाई सरकारले दिने लोककल्याणकारी सुविधा वापतको रकम तत्कालै उपलब्ध गराउनुपर्ने, निषेधाज्ञाका क्रममा बन्द भएका पत्रपत्रिकालाई वर्गिकरणमा छुट दिनुपर्ने, अनलाईन सञ्चार माध्यमलाई समेत लोककल्याणकारी विज्ञापन उपलब्ध गराउनुपर्ने, गलत सूचना प्रवाह गर्नेलाई नियन्त्रण गर्नुपर्ने, आचारसंहिता पालना भए नभएको विषयलाई काउन्सिलले प्रभावकारी अनुगमन गर्नुपर्ने लगायतका विषय उठान गरिएको छ ।
कार्यक्रममा लोकतन्त्र पोष्टका सम्पादक मोहनकाजी, अग्रज पत्रकार माधव विद्रोही, महासंघका प्रदेश १ अध्यक्ष लीलाबल्लभ घिमिरे, प्रेस चौतारीका नेता लीला भट्टराई सहित महासंघका विभिन्न जिल्लाका अध्यक्षहरुले जिल्लाको परिस्थितिका बारेमा जानकारी दिएका छन् । अधिकांशले खोप उपलब्ध गराउन जोड दिएका छन् ।