इटलीको सानदार जीत
रोम । इटालीले युरोकप फुटबलमा सानदार सुरुवात गरेको छ । इटालीको रोममा गएराति भएको उद्घाटन खेलमा घरेलु टोलीले टर्कीलाई ३–० ले हरायो । इटालीको जितमा सिरो इमोबिल र लोरेन्जो इन्सीग्नेले एक–एक गोल गरे ।

अर्को एक गोल टर्कीका रक्षापंक्तिका खेलाडी मेरिह डिमाइरलबाट आत्माघाती भयो । जितसँगै इटालीले आफ्नो अपराजित यात्रालाई २८ खेलसम्म लम्ब्याएको छ । सन् २०१८ को विश्वकपमा छनौट हुन नसकेपछि रोबर्टो म्यान्सीनीले प्रशिक्षण समालेयता इटालीले सुधारिएको प्रदर्शन गरिरहेको छ ।
युरोकप फुटबलमा आज तिन खेल हुनेछन् । समूह ‘ए’ को खेलमा वेल्सले स्विट्जरल्याण्डसँग खेल्दा समुह ‘बि’ का खेलहरुमा बेल्जियम र रुस तथा डेनमार्क र फिनल्याण्ड भिड्नेछन् ।