शिवसताक्षीमा ६ वटा वडा कार्यालय र ८ वटा स्वास्थ्य केन्द्रको भवन निर्माण सकियो
विर्तामोड । झापाको शिवसताक्षी नगरपालिकाले ६ वटा वडा कार्यालयसहित ८ वटा आधारभूत स्वास्थ्य केन्द्रको निर्माण सम्पन्न गरेको छ । नगरका वरिष्ट कार्यक्रम अधिकृत प्रकाश चन्द्र चौधरीका अनुसार वडा कार्यालय र स्वास्थ्य केन्द्रका भवन निर्माण कार्य सकिएका छन् ।

स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा वडा नं. १ को जोरगाउँ, २ को ब्यङ्डुक्रा, ३ को पाराबारी, ५ को जनता चौक, ७ को लालपानी, ८ को झिलझिले, ९ को यलम्बर चौक र १० को माइधारमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको छ ।
यस्तै, प्रदेशको समपुरक र नगरपालिकाको लगानीमा वडा नं.१ ,३ र ६, जिल्ला समन्वय समिति, सांसद् कोष र नगरपालिकाको लगानीमा वडा नं. ५ को कार्यालय निर्माण गरिएको छ । तराइ मधेश समृद्धि कार्यक्रम र नगरपालिकाको लगानीमा वडा नं. ४ को अधुरो भवन पुरा गरिएको छ । नगरपालिकाले वडा नं. ७ को अधुरो भवन समेत निर्माण सम्पन्न गरेको चौधरीले जानकारी दिए ।
नगरवासीलाई वडा कार्यालय निर्माणपछि सेवा प्राप्त गर्न सहज भएको छ भने आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणपछि स्वास्थ्य सेवा प्रवाहमा सजिलो भएको छ ।