बिर्तामोडका कृषकलाई कृषि सामग्री, विषादी र विउ बोको हस्तान्तरण
बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगर क्षेत्रका व्यवसायिक कृषक तथा कृषक समूहलाई कृषि सामग्री, विषादी एवम् विउ बोको हस्तान्तरण गरेको छ । बिर्तामोड नगरपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखा र कृषि विकास शाखाको आर्थिक वर्ष २०७७/७८ को स्वीकृत कार्यक्रम अनुरुप उक्त सामग्री प्रदान गरिएको हो ।

कृषि विकास शाखाका प्रमुख राजेन्द्र कडरियाका अनुसार व्यावसायिक तरकारी उत्पादनमा क्रियाशील ६० जना किसानका लागि १३ लाख ७० हजार रुपैयाँका सामग्री हस्तान्तरण गरिएको छ ।
एक लाख ५० हजार रुपैयाँको ६० वटा विषादी छर्कने स्प्रे, एक लाख ७० हजार रुपैंयाँको किटनाशक विषादी, तीन लाख रुपैयाँको ६० वटा टनेल बनाउने सिलकोलिन प्लाष्टिक तथा १२५ वटा मल्चिङ सात लाख ५० हजार रुपैयाँमा खरिद गरी किसानलाई प्रदान गरिएको हो ।
यसैगरी पशुपंक्षी तथा मत्स्य विकास शाखाबाट मेयर ग्रामीण बाख्रा साटासाट कार्यक्रम अन्तरगत चार वटा बोयर जातको बोको कृषक समूहलाई हस्तान्तरण गरिएको छ । शाखा प्रमुख विष्णुप्रसाद भट्टराईका अनुसार ७५ प्रतिशत बोयर जातको बोको विभिन्न चार वटा कृषक समूहका लागि प्रदान गरिएको हो ।
नगरपालिकाले सहारा नेपालसँगको साझेदारीमा साइलेज बनाउने एकथान मेसिन (च्यापकटर) पनि किसानलाई हस्तान्तरण गरेको छ । बिर्तामोड वडा नं. ७ को पशुपालक कृषक समूहको २० प्रतिशत लागत साझेदारीमा १० लाख ५० हजार रुपैयाँ बराबरको उक्त मेसिन प्रदान गरिएको हो ।
आज नगरपालिकाको प्राङ्गणमा नगर उपप्रमुख पवित्रा महतरा प्रसाईंको अध्यक्षतामा विशेष कार्यक्रमको आयोजना गरी किसानलाई ती सामग्रीहरु हस्तान्तरण गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत गणेश दाहाल लगायतले किसानहरुलाई सामग्रीहरु हस्तान्तरण गर्दै व्यवसायमा अब्बल बन्नका लागि प्राप्त कृषि सामग्रीहरुको अधिकतम लाभ लिन आग्रह गर्नुभयोे ।