नेता खरेलको पहलमा विधालयलाई थप १८/१८ लाख प्राप्त
बिर्तामोड । झापा बिर्तामोडका दुई विधालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत दोस्रो चरणमा थप कक्षा कोठा निर्माणका लागि ३६ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् । बिर्तामोड २ को मोहनमाया मावि र बिर्तामोड ७ को दुर्गा माविले १८/१८ लाख प्राप्त गर्ने भएका हुन् ।
गत बैशाखमा मोहनमायाले सोही कार्यक्रम मार्फत १८ लाख पाएको थियो । सो रकमले २ वटा कक्षाकोठाको निर्माण अन्तिम चरणमा पुगेको प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार पूर्व मन्त्री एवम् नेकपा एमालेका प्रभावशाली नेता अग्नी खरेलको पहलमा दोस्रो पटक समेत विधालयले सोही कार्यक्रम पाउन सफल भएको छ ।
श्रेष्ठका अनुसार दोस्रो चरणको कार्यक्रम समेत सम्झौता भइसकेको छ । दोस्रो पटकको १८ लाखले थप २ वटा कोठा निर्माण गरिने उनको भनाई छ । श्रेष्ठले भने, पूर्वमन्त्री खरेलले विधालयको कक्षाकोठा अभाव देखेर थप पहल गर्नुभएको थियो । हरेक वर्ष निजी विधालय छोडेर २ सय विधार्थी मोहनमायामा भर्ना भइरहेका छन् । विधार्थी संख्या अनुसार भौतिक संरचना अभाव देखेका खरेलले वार्षिकोत्सवमा कक्षाकोठा थप गर्ने बचन समेत दिएका थिए ।
यस्तै, गरामनीस्थित दुर्गा माविलाई कक्षा कोठा निर्माणका लागि १८ लाख प्राप्त भएको छ । पूर्व महान्यायाधिवक्ता खरेलकै सिफारिसमा दुर्गा माविलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट भएको विधालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पाण्डेले जानकारी दिए । विधालयमा कक्षाकोठा अभाव भएको समस्या उहाँलाई सुनाएका थियौं , पाण्डेले भने – २ वटा कक्षाकोठा निर्माणका लागि १८ लाख आएको छ । आज सम्झौता समेत गरिसकेका छौं, उनले थपे । कक्षाकोठा नभएर विधालयको अवस्था लथालिङ भइसकेको थियो ।
अर्जुनधारा–९ को कालिकास्थान माविलाई नविन प्रविधिका लागि ६ लाख ५० हजार प्राप्त हुने भएको छ । राष्ट्रपति शैक्षिक सुधार (थप कार्यक्रममा ) कार्यक्रम अन्तर्गत १७ वटा विधालयले लाखौं रुपैयाँ पाउने भएका छन् ।