मनोमानी मनोनयनले कुर्सी पुर्याउन गाह्रो छ : सभापति थापा
बिर्तामोड । विना जानकारी पार्टीमा भइरहेको मनोनयनप्रति नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले असन्तुष्टी व्यक्त गरेका छन् । उनले आफ्नो असन्तुष्टी सामाजिक सञ्जाल मार्फत व्यक्त गरेका छन् ।
जिल्ला पार्टीलाई कुनै पनि जानकारी नदिई मनोमानी रुपमा जिम्मेवारी दिएकोमा थापाले असन्तुष्टी जनाएका छन् । जिल्लाका कार्यकर्ताहरु मनोनयनमा परेको कुरा सामाजिक सञ्जाल मार्फत मात्रै थाहा हुन थालेको थापाको भनाई छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान बिभागले झापामा हरेक दिन सदस्यहरू मनोनयन गरेको कुरा फेसबुकमा देख्न पाईन्छ । पार्टीमा जानकारी छैन । यति सदस्यहरू मनोनयन भईसके पार्टी अफिसमा ठाँऊ पनि, कुर्सी पनि पुर्याउन नसकिने भैसक्यो ।
प्रतिष्ठानको, कुर्सीमै नअटाउने गरि सदस्य मनोनयन गर्ने बिधान छ कि ? झापाबाट मात्रै मनोनयन गर्ने बिधान छ कि ? अधिबेशन लागेको हो कि ? यो प्रतिष्ठान पार्टीको नीति अनुसार चल्दै छ कि, कसैको ईसाराबाट, केही बुझ्न सकिएन ?