हल्दीवारीका ठेकेदार निरौलाले मेचीमा डाक्टर कुटेपछि ओपीडी सेवा बन्द
बिर्तामोड । आइतवार साँझ हल्दीवारीका ठेकेदार पुष्प निरौलाले मेची अस्पतालका मेडिकल अफिसर डा.केवल कपुरीलाई कुटपिट गरेपछि कारवाहीको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् । उनीहरुले निरौलालाई कारवाहीको माग गर्दै आज ओपीडी सेवा बन्द गराएका छन् ।

निरौलाले श्रीमतिको उपचारका लागि मेची अस्पताल पुगेका थिए । बोमिट गर्ने, टाउको दुख्ने समस्या भएपछि श्रीमति लिएर अस्पताल पुगेका निरौलाले अन्धाधुन्द चिकित्सकमाथि हातमात गरेका थिए । अस्पतालको सीसी क्यामेरामा निरौलाले डाक्टर कपुरीमाथि एक्कासी जाइलागेको देखिन्छ ।
कुटपिटपछि निरौलालाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय झापामा उजुरी गरिएको छ । अस्पतालका मेसु डा.टंक बाह्रकोटीले कारवाहीको लागि पीडितका तर्फबाट उजुरी गरिएको जानकारी दिए । उनले अस्पतालमा सेवारत चिकित्सकमाथि कुटपिट हुनु दुखद् भएको बताए ।