खोप बारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन
झापा । झापाको विर्तामोडस्थित टाइमलेस होटलबाट कोरोनाविरुद्धको खोपसहित नगरपालिकाका कोभिड स्रोत व्यक्ति ओमबहादुर खड्का पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षमा आज बसेको जिल्ला कोभिड खोप व्यवस्थापन समितिको बैठकले उक्त घटनाको सत्यतथ्य छानबिन गर्न सो समिति गठन गरेको हो । बैठकले घटनाको निष्पक्ष छानबिन गरि प्रतिवेदन बुझाउन समितिलाई सात दिनको समय दिएको बताइएको छ ।
सो समितिका सदस्यमा जिल्ला समन्वय अधिकारी लालबहादुर श्रेष्ठ, प्रहरी नायब उपरीक्षक राकेश थापा, सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम प्रसाईँ र अनुसन्धान अधिकृत किरण भट्टराई रहेका छन् ।
बैठकले छानबिन नटुङ्गिएसम्म स्रोत व्यक्ति खड्कालाई खोपसम्बन्धी कुनै पनि गतिविधि नगर्न आग्रह गर्ने, स्वास्थ्य कार्यालयलाई कोभिड–१९ विरुद्धको खोपको विवरण सार्वजनिक गर्न निर्देशन दिने र पेट्रोलपम्पहरुमा काम गर्ने ३०० कामदारलाई चारआली डिपोमा गई कोभिड–१९ विरुद्धको जोनसोन खोप लगाउने व्यवस्था मिलाउने जिम्मेवारी समितिलाई दिएको छ ।
त्यसैगरी खोप अनियमिततासम्बन्धी घटनाका दोषीलाई तत्काल सेवाबाट निलम्बन गरेर आवश्यक अनुसन्धान गरी घटनाको छानबिन र कारवाही गर्न झापाका पाँच राजनीतिक दलले आजै विज्ञप्ति जारी गरी माग गरेका छन् ।