बिर्तामोडको थापा मार्केटभित्र लागेको आगो नियन्त्रणमा
झापा । झापाको बिर्तामोडस्थित मुक्ति चोकमा रहेको थापा मार्केटभित्र कपडा पसलमा लागेको आगो नियन्त्रणमा आएको छ । प्रहरीका अनुसार पौने ७ बजेदेखि लागेको आगो साढे ८ मा नियन्त्रणमा आएको हो ।
थापा मार्केटमा रहेको ऋद्धिसिद्धी वेयर कलेक्सनमा आगो लागेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष आचार्यले जानकारी दिए । व्यवसायी सूर्य अधिकारीले उक्त पसल सञ्चालन गर्दै आएका थिए ।
बिर्तामोड र मेचीनगर नगरपालिकाको वरुण यन्त्रले आगो नियन्त्रणमा लिइसकेको छ । आगलागीको कारण खुलेको छैन । विद्युतीय चुहावटका कारण आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । आगलागीका कारण कपडा पसल पूर्णरुपमा जलेको छ । गत वर्ष पनि सोही मार्केटमा आगलागी हुँदा ठुलो क्षति भएको थियो ।