बिएण्डसीले सिंहदेवि माविको दुई तल्ले भवन बनाईदिने
झापा । बीएण्डसी मेडिकल कलेजले दुई करोड रुपैयाँ खर्च गरी एक सामुदायिक विद्यालयमा थप नयाँ भवन बनाउने भएको छ । अर्जुनधारा नगरपालिका १ सिस्नेको श्री सिंहदेवि माध्यामिक विद्यालयमा दुई तल्ले पक्की भवन बनाईदिने भएको हो ।
कलेजका अध्यक्ष इन्दिरा गिरी र कार्यकारी निर्देशक दुर्गा प्रसाइले शुक्रवार एक कार्यक्रमकाबीच नयाँ सिलन्यास गरेका छन् ।
भवन सिलन्यास गर्दै मेडिकल कलेजका कार्यकारी निर्देशक प्रसाइले सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत् भवन निर्माण गर्न लागिएको बताए ।

विद्यालयमा कक्षाकोठाको अभाव भएपछि र शैक्षिक गुणस्तरलाई गुणात्मक बनाउन आठ कोठे उक्त भवन बनाईदिन लागेको उनले बताए । चार चार कोठाका दरले कुल आठ कोठा तय गरिएको उक्त भवन छ महिना भित्र निर्माण सम्पन्न हुने समेत उनले जानकारी दिए ।
सो विद्यालयमा हाल नौ सय विद्यार्थीहरु अध्ययनरत छन् । नवनिर्मीत भवन कक्षा कोठाको रुपमा उपयोगमा ल्याइने विद्यालयका प्रधानाध्यापक लक्ष्मी रीजालले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु लाल ढकालको अध्यक्षतामा सिलन्यास कार्यक्रम भएको थियो । विद्यालय भवन बनाउन स्थानीय रानीशोभा राईले निशुल्क जग्गा प्रदान गरेकी हुन् । यसैबीच बीएण्डसीले विद्यालयका जग्गादाता रानीशोभालाई आजिवन निशुल्क उपचार गरिदिने घोषणा गरेको छ ।