आमा छ तिम्रो महिमा अपार
काठमाडौँ । सामाजिक सञ्जालमा शुक्रबारदेखि एउटा तस्बिर भाइरल भइरहेको छ। जसमा एक महिला नाबालक छोरो लिएर निदाएजस्ती देखिन्छन्। खासमा ती महिलाको बसमा यात्राकै क्रममा निधन भएको रहेछ। छोरो अरू यात्रुसँग नफकिएपछि मृत आमाकै काखमा राखिएको थियो।
उनी रहिछन्, २८ वर्षीया धर्माकुमारी बटाला। माइतीघर डडेलधुराको अजयमेरु गाउँपालिका–३ गुनपाल। रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटालागाउँ खारखोलाका दलबहादुर बटालासँग आठ वर्षअघि बिहे भएको थियो। दलबहादुर भवन निर्माणसम्बन्धी काम गर्दै बाँकेको नेपालगन्जमै बस्दै आएका थिए। उनले मुटुरोगी श्रीमतीलाई थप उपचारका लागि उतै बोलाए।

धर्माकुमारी ३२ महिने छोरा किरणलाई बोकेर बिहीबार रुकुम पश्चिमको राडीबाट ना.३ख ३७७९ नम्बरको रात्रिबस चढिन्। श्रीमान्–श्रीमतीबीच फोन सम्पर्क भइरहेको थियो। जाजरकोटको छेडाबजारमा आमा छोराले खाना खाएपछि पनि दुई पटक सम्पर्क भएको दलबहादुरले सुनाए।
उनका अनुसार सुर्खेत र सल्यानको सिमाना धारापानी भन्ने ठाउँमा अन्तिम सम्पर्क भयो। धर्माकुमारीले श्रीमान्लाई आफ्नो अवस्था सामान्य रहेको, आरामले यात्रा गरिरहेको, बसमा अरू मानिस रहेको हुँदा चिन्ता नगर्न भनिन्। त्यसपछि भने फोन सम्पर्क हुन नसकेको दलबहादुरको भनाइ छ
अरू यात्रुका अनुसार धर्माकुमारी बसेको सिटपछि अर्कोमा आठबिसकोटकै अर्जुन केसी थिए। धर्माकुमारी छोरासँगै बसेकी थिइन्। बान्ता हुन थालेपछि धर्माकुमारीले केसीसँग पोलिथिनको झोला मागिन्। त्यसपछि उनले आफूलाई अगाडिको सिटमा बस्ने प्रबन्ध मिलाई दिन केसीलाई आग्रह गरिन्। केसीले आफू बसेको झ्यालनजिकको २ नम्बर सिट छोडिदिए। सिटमा आमा–छोरा बसे। केसी १ नम्बर सिटमा एक्लै बसे।
सुर्खेतको बोटेचौरमा आइपुगेपछि धर्माकुमारीले दुई–तीन पटक बान्ता गरिन्। तर, उनी त्यसपछि सामान्य अवस्थामा सिटमा बसेको आठबिसकोटकै अर्जुन विष्टले बताए। विष्टका अनुसार मध्यरात भइसकेको थियो। सबै यात्रु निदाएजस्तै वातावरण थियो। बर्दियाको हरिया लेक आइपुग्दा एकाएक ३२ महिने किरण रोएको आवाज आयो।
‘यसो फर्केर हेर्दा बच्चा सिटदेखि तल खसेको देखेँ’, विष्टले भने, ‘त्यसपछि मलगायत अरूले भाउजू नाता पर्ने धर्माकुमारीलाई उठाउन खोज्यौं। तर, उहाँ हलचल गर्नुभएन।’ यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।