शिवसताक्षीको नयाँ रेकर्ड : देशभरमै सबैभन्दा कम बेरुजु
झापा । झापाको शिवसताक्षी नगरपालिका आर्थिक अनुशासन र वित्तिय सुशासनमा मुलुकमै रेकर्ड बनाएको छ । केहिदिन अघि महालेखाले सार्वजनिक गरेको प्रतिवेदनमा शिवसताक्षीले मुलुकभरमै कम बेरुजुमा रेकर्ड बनाएको हो ।
महालेखा परिक्षकको कार्यालय काठमाडौंले आफ्नो नियमित वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै शिवसताक्षी कम बेरुजु गर्ने पालिका देखाएको हो । शिवसताक्षी नगरपालिका मुलुकका ७५३ पालिका मध्ये सबै भन्दा कम बेरुजु गर्ने पालिकामा पहिलो बनेको नगरको लेखा शाखाले दावी गरेको छ ।
प्रतिवेदनले ११ लाख ७७ हजार मात्र बेरुजु देखाएको छ । गत आर्थिक वर्ष ०७७/०७८ मा १ अर्ब ९० करोड ५३ लाख ६८ हजार रुपैयाँको लेखा परिक्षण गरिएको थियो । त्यस मध्ये ०.०६ प्रतिशत बेरुजु हो ।
नगरपालिकाको लेखा शाखामा चालु आवमा निर्माण सम्पन्न भएका योजनाका ठेकेदार र निर्माण उपभोक्ता समितिका पदाधिकारले आवश्यक कागजात समयमै नल्याएका कारण केहि रकम बेरुजु देखिएको प्रमुख लेखा अधिकृत प्रकाश योङहाङले बताए । उनका अनुसार केही रकम संघीय सरकारले असार २५ गते मात्र पठाएका कारणले पनि बेरुजु देखिएको हो ।
नगर प्रमुख चन्द्र शेर्माले आर्थिक अनुशासन कायम राख्न निकै धेरै मेहनत गरेको बताएका छन् । उनले बेरुजुको विवरणमा कम देखिनुले कर्मचारीमा समेत अनुशासन र विधिको परिपालना भएको बताए । थोरै रकम बेरुजु आएको रहेछ, शेर्माले भने – आगामी वर्षहरुमा अझै घटाउने गरि प्रशासनबाट काम हुनेछ । कम बेरुजु हुनुले जनप्रतिनिधिबाट कर्मचारीमा कुनै प्रकारको दवाव नभएको स्पष्ट छ । उनले नगरपालिकाले देशभरमै रेकर्ड कायम गरेकोमा सबै जनप्रतिनिधि र कर्मचारीलाई समेत धन्यवादन दिएका छन् ।
यस्तै, प्रमुख प्रशासकीय अधिकृत गिता इङ्नाम राईले देशभर मै बेरुजु कम गर्न सफल भएकोमा खुशी व्यक्त गरेकी छन् । उनले आफ्नो कार्यकालमा सबै कर्मचारीको सहयोग र जनप्रतिनिधिको कुशल समन्वयका कारण बेरुजु कम गर्न सफल भएको बताइन् । अनावश्यक दवाव नहुँदा बेरुजु कम आउने उनको भनाई छ । स्थानीय सरकार सञ्चालन ऐनको पूर्ण पालना र आर्थिक अनुशासनको सीमामा रहेर काम गरेका कारण बेरुजु कम आएको प्रमुख प्रशासकीय अधिकृत राईको भनाई छ । उनले धेरै प्रयास गर्दागर्दै पनि केहि रकम बेरुजु आएको र यसलाई सुधार गर्दै जाने जानकारी दिइन् ।
‘वित्तिय अनुशासनलाई कायम राखेका कारण नगरको शिर उच्चो बनाउन सकेकोमा गर्व लागेको छ,’ उनले भने । रकम भुक्तानी गर्नुपर्ने आधार पेश गरेपछि मात्र लेखा शाखाले भुक्तानी दिने गरेको उनले बताएका छन् । ‘करकाप, जवरजस्ती र हचुवाका भरमा भुक्तानी नदिँदा पनि अलिकति भएपनि बेरुजु आयो । यसलाई आगामी वर्षमा शुन्य प्रतिशतमा झार्ने लेखा शाखाबाट प्रयास हुने छ,’ योङहाङले भने । गत वर्ष १ दशमलव ५ प्रतिशत बेरुजु रहेको नगरमा यो वर्ष घटेको उनले बताएका छन् ।
यता, जिल्लाको कमल गाउँपालिका पनि मुलुकमा कम बेरुजु गर्ने पालिकामा परेको छ । कमलमा ०.०८ प्रतिशत बेरुजु देखिएको छ । कमल गाँउपालिका कम बेरुजु गर्ने मुलुकभरका गाउँपालिकामा तेस्रो नम्बरमा परेको छ । यता, सबैभन्दा धेरै बेरुजु गर्ने १० वटा पालिका सबै प्रदेश नम्बर २ का हुन् । महोत्तरीको पिपरा गाँउपालिकाले ३७.९७ प्रतिशत बेरुजु गरेको छ । उसले १ अर्ब १२ करोड ०९लाख ७९ हजार को लेखा परिक्षण गरिएको थियो ।