झापाका भण्डारीको पक्षमा सर्वोच्चको फैसला : काका–ससुराबाट मिर्गौला दान लिन सक्ने
झापा । काका–ससुराबाट मृगौला प्रत्यारोपण गर्न नपाएपछि झापा भद्रपुर –१० निवासी गिता कुमारी भण्डारीलाई उपचार गर्न भारत लगिएको छ । नेपालमा अंग प्रत्यारोपणमा कानुनी जटिलता भएपछि श्रीमान देविचरण भण्डारीले मृगौला प्रत्यारोपणका लागि श्रीमतिलाई भारत लिएर गए ।
खर्च पनि कम हुने भएपछि उनले नेपालमै मृगौला प्रत्यारोपण गर्ने सोच बनाएका थिए । तर, कानुन बाधा भएपछि त्यसका विरुद्ध भण्डारीले सर्वोच्चमा साउन २६ गते मुद्धा दर्ता गएका थिए । सर्वोच्चको फैसला भदौ १३ गते मात्रै आएको छ । फैसला ढिलो आउने थाहा पाएपछि उनीहरु उपचारका लागि भारत प्रस्थान गरे । भारतमा काका–ससुराको मृगौला प्रत्यारोपण गर्न कानुनी बाधा छैन । भण्डारीले समयमा सर्वोच्चले फैसला नदिदाँ धेरै दुख कष्ट व्यहोर्नु परेको प्रतिक्रिया दिएका छन् ।

उनले यो फैसलाको सदुपयोग गर्न नपाए पनि अन्य नागरिकले सूविधा उपभोग गर्न सक्ने बताएका छन् । एक हप्तापछि श्रीमतिको मृगौला प्रत्यारोपण हुने सामाजिक सञ्जालमा लेखेका छन् ।
भदौ १३ को सर्वोच्च अदालतको फैसलाले मानव अंग प्रत्यारोपण ऐनको थप व्याख्या गर्दै काका–ससुराबाट पनि मिर्गौला दान लिन सक्ने व्यवस्था गरेको छ । मिर्गौला दान गर्न सक्ने नजिकको नातेदारको विषयमा मानव अंग प्रत्यारोपण ऐनमा भएको व्यवस्थाको थप व्याख्या गर्दै सर्वोच्चले काका–ससुराबाट पनि मिर्गौला दान लिनसक्ने फैसला सुनाएको हो ।
भण्डारीले दायर भएको मुद्दामा सर्वोच्चका न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासले काका–ससुराबाट मिर्गौला दान लिनसक्ने फैसला सुनाएको हो ।
झापाको भद्रपुर नगरपालिका–१० की भण्डारीले उनका काका ससुराको मिर्गाैला उनको मन्जुरीमा प्रत्यारोपणका लागि चिकित्सकीय सहमति माग गर्दा प्रचलित मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को (पहिलो संशोधन, २०७२) को दफा २ को खण्ड (ठ) को कानुनी व्यवस्था बमोजिमको नजिकको नातेदार नभएको भन्दै शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र प्रत्यारोपण गर्न मानेको थिएन ।
जसविरुद्ध पीडित पक्ष सर्वाेच्च पुगेको थियो । ‘नेपालको संविधानको धारा १६ ले जीवन रक्षालाई मौलिक हकको रुपमा प्रत्यापन गर्नका साथै मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ ले प्रावत ऐनको मूल उद्देश्य नै मानव अंग प्रत्यारोपणलाई नियमित गर्ने र मानव अंगको परिद विकी जस्ता क्रियाकलापलाई निषेध गर्ने रहेको देखिन्छ’, फैसलामा भनिएको छ, ‘मानव अंग प्रत्यारोपण सम्बन्धमा पूजा खत्रीविरुद्ध नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौं समेत (०६९–ध्क्–००५९) को मुद्दामा समेत मानव अंग प्रत्यारोपण सम्बन्धमा नजिकको नातेदारको सम्बन्धमा फराकिलो तवरबाट कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको भन्ने व्याख्या गरेको देखिन्छ । काका ससुरालाई मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को (पहिलो संशोधन, २०७२) को दफा २ को खण्ड (ठ)ले स्पष्ट रुपमा बाहेक गरेको देखिँदैन ।’
मिर्गाैला प्रत्यारोपण गर्न काका ससुराको मन्जुरी भएको र त्यसलाई निषेध गर्नुपर्ने आधारभूत कारण नभएको भन्दै फैसलामा भनिएको छ, ‘काका ससुरालाई स्वेच्छिक दान गरी भाई बुहारीको जीवन रक्षामा योगदान पु¥याउने पवित्र मानवीय दृष्टिकोण समेतबाट वञ्चित गर्न नमिल्ने हुँदा प्रत्यर्थी शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको मिति २०७८÷४÷२२ को पत्र एवं सोसँग सम्बद्ध निर्णय उत्प्रेषणका आदेशद्वारा बदर हुने ठहर्छ ।’