जेष्ठ ३, २०८२ शुक्रबार

कोरोना प्रभावित आयोजनाको म्याद थप

काठमाडौं । सरकारले कोरोना भाइरसका कारण प्रभावित भएका आयोजना तथा विभिन्न खरिद सम्झौताको म्याद आगामी चैत मसान्तसम्म थप गरेको छ । मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयअनुसार कोरोनाको सङ्क्रमणको कारण बन्दाबन्दी तथा निषेधको आदेश जारी भई साबिकमा सञ्चालित खरिदसम्बन्धी ठेक्का सम्झौताको म्याद थप भएको जानकारी अर्थ मन्त्रालयले दिएको हो ।

बन्दाबन्दी वा निषेधको आदेशका कारण काम सम्पन्न हुन नसकेका चालु अवस्थामा रहेका खरिद सम्झौताको म्याद सम्बन्धित आपूर्तिकर्ता, निर्माण व्यवसायी एवम् सेवा प्रदायक तथा परामर्शदाताको निवेदनका आधारमा बोलपत्र स्वीकृत गर्ने पदाधिकारीले म्याद थप गर्न सक्ने व्यवस्था छ । आवश्यकता र औचित्यका आधार विश्लेषण गरी सरकारलाई थप दायित्व नपर्ने गरी खरिद सम्झौताको म्याद चैत मसान्तसम्म थप गर्न सकिने अर्थ मन्त्रालयले जनाएको छ ।

म्याद थप गर्नुपर्ने सम्झौताको निर्णय एक महिनाभित्र गरी सोको जानकारी सम्बन्धित मन्त्रालय, सचिवालय र आयोगको सचिव वा विशिष्ट श्रेणीको पदाधिकारीलाई दिनुपर्नेछ । सचिव वा विशिष्ट श्रेणीका पदाधिकारीले उपयुक्त निर्णय गरे नगरेको, सम्झौताको म्याद थप भएपछि काम सम्पन्न भए-नभएका विषयमा मिहीन तरिकाले हेर्नुपर्नेछ । यस्तै खरिद सम्झौताको सन्दर्भमा सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिमको कारबाही समयमै गरे÷नगरेको सम्बन्धमा नियमित अनुगमन गर्नुपर्नेछ । त्यसको प्रतिवेदन मासिक रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गर्नसमेत मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : भाद्र २१, २०७८ सोमबार  ९ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]