जेष्ठ २, २०८२ बिहीबार

घाइतेको उपचार नगर्ने विद्युत प्राधिकरण धुलाबारीका प्रमुख गनगाईको धम्की

बिनोद सापकोटा
झिलझिले । धरमपुर दुर्घटनाका घाइतेलाई पीडक पक्षले उपचार नगर्ने भन्दै धम्काएपछि झापाको बिएण्डसी अस्पतालमा उपचार गराइरहेका एकजना पीडित थप मानसिक पीडामा परेका छन् । शिवसताक्षी नगरपालिका वडा नं १ का भिमदत्त भट्टराई आर्थिक र मानसिक पीडामा परेको उनका आफन्तहरुले बताएका छन् ।

गएको भदौ १० गते पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको झिलझिलेमा नेपाल विद्युत प्राधिकरण धुलाबारी शाखाको बोलेरो जिपले भट्टराईलाई ठक्कर दिएको थियो । भट्टराई झिलझिले बजारमा सौदा गरेर घर फर्कने क्रममा थिएँ । त्यहीक्रममा पश्चिमबाट पूर्व गइरहेको नेपाल विद्युत प्राधिकरणको प्रदेश ३ —०१ ००१ ञ २५४१ नम्बरको बोलेरो गाडीले में ७ प ८०९३ नम्बरको स्कुटीमा सवार भट्टराईलाई ठक्कर दिएर भुइँमा लडाएको थियो । उनको बायाँ खुट्टा दुई ठाउँमा भाँचिएको छ भने छाति, टाउको लगायतका शरीरको अन्य भागमा गम्भीर चोट लागेको छ । अस्पताल स्रोतका अनुसार भट्टर्राईको टाउकोमा रगत जमेकाले उनको शल्यक्रिया गर्नुको विकल्प छैन । घाइते भट्टराईको सघन उपचार कक्षमा उपचार भइरहेको उनले बताए ।

तर, नेपाल विद्युत प्राधिकरण धुलाबारी शाखाका प्रमुख भीम प्रसाद गनगाईलें अस्पतालमा उपचार गराइरहेका भट्टराईको प्राधिकरणले उपचार नगर्ने भन्दै धम्काएको पीडितका आफन्त सुजन ओलीले बताए । ‘उहाँले चालक अनुमतिपत्र नभएका घाइतेको उपचार कुनै पनि हालतमा नगर्ने भनेर हामीलाई धम्की दिइरहनु भएको छ,’ ओलीले भने । पीडित भट्टराई परिवार ले नै अस्पतालमा धरौटी, औषधिको शुल्क लगायतका अन्य आर्थिक व्ययभार हरु हालसम्म जोहो गरिरहेका छन् । आर्थिक अवस्था दयनीय रहेका भट्टराई परिवारको थप उपचारकालागि आर्थिक जोहो गर्ने विकल्प नभएकाले पिडक प्राधिकरण पक्षसँग कुरा गर्दा आफूहरुले उपचार नगर्ने भन्दै थप मानसिक पीडा दिएको घाइतेकाससुरा केडी रिजालले बताए ।

सवारी दुर्घटनामामा परेर मृत्यु भएका परिवारलाई क्षतिपूर्ति र काजक्रिया, चोटपटक लागि अङ्गभङ्ग भएमा पीडितको उपचार खर्च र क्षतिपूर्ति पीडक पक्षले उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था छ। अधिवक्ता भीम बराल भन्छन, ‘सवारीसाधनले ठक्कर दिनु नै गलत हो । यस्तो अवस्थामा पीडकले पीडित पक्षको उपचार र क्षतिपूर्ति व्यहोर्नुपर्छ ।’ सवारी चालक अनुमति पत्र नलिई सवारी चलाएमा त्यस्तो चालकलाई कारवाही गर्ने कानुनको छुट्टै पाटो छ । अधिवक्ता बरालले भने ‘विद्युत प्राधिकरणको सवारी साधनले ठक्कर दिएर घाइते बनाएका भट्टराईलाई चालक अनुमतिपत्र नभएका कारणले उपचार गर्दिन भन्ने कानुनी प्रावधान नै छैन ।’ दुर्घटनामा संलग्न बोलेरो र सोका चालकलाई ईलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको थियो । चालक बाहेक बोलेरो अहिले पनि प्रहरी नियन्त्रणमा छ ।

प्राधिकरणले पीडितको उपचार नगर्ने, प्रहरी नियन्त्रणमा रहेका चालक र बलेरो निकाल्ने जस्ता धम्की पीडित पक्षलाई दिन थालेको स्थानीयले बताएका छन् । प्रहरी नियन्त्रणमा रहेको उक्त बलेरो घाइेतेको उपचारको ग्यारेन्टी नहुन्जेलसम्म निकाल्न नदिने शिवसताक्षी नगरपालिकाका युवाहरुले बताएका छन् ।

पीडकले उपचार गर्ने खर्च ननिकाल्ने, प्रहरी नियन्त्रणमा रहेको गाडी निकाल्न प्रहरी प्रशासनलाई दबाब दिने जस्ता क्रियाकलापले पीडित पक्षलाई थप अन्याय भएको स्थानीय युवा दिपेश रिजालले बताए । उनले भने,‘ घाइतेको उपचार गर्नुको विकल्प प्राधिकरणसँग छैन ।
प्रहरी नियन्त्रणमा रहेको सवारी साधन निकाल्न पीडितको उपचारको ग्यारेन्टी लिखित गरेपछिमात्र सम्भव हुने उनले बताएका छन् । अन्यथा कानुन हातमा लिएर जोड जवरजस्त गरे त्यसपछि आईपर्ने समस्या नेपाल विद्युत प्राधिकरण धुलाबारीका कार्यालय प्रमुख भीम प्रसाद गनगाई ले व्यहोर्नुपर्ने धरमपुरका स्थानीयले बताएका छन् । यता स्थानीय प्रशासनले पीडितको उपचार र क्षतिपूर्ति प्राधिकरणले नव्यहोर्ने तर्क कानुन सम्मत नभएको बताएको छ । ट्राफिक प्रहरी पोष्ट झिलझिलेका अनुसार राजमार्गको डिभाइडर लाईन देखी १० मिटर अर्को तर्फको सडक मिचेर भट्टराई सवार स्कुटीलाई प्राधिकरणको सवारी साधनले ठक्कर दिएको हो ।

प्रकाशित मिति : भाद्र २५, २०७८ शुक्रबार  ८ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]