बैशाख २८, २०८२ आईतबार

गाउँगाउँ पुगेर बङ्गुरपालनको व्यावसायिक प्रशिक्षण

झापा – घरै बसेर परिवारका सदस्यले थोरै लगानीमा सजिलै बढी आम्दानी गर्न सकिने व्यवसायका रुपमा पछिल्लो समय बङ्गुरपालनप्रति गाउँका किसानको आकर्षण बढ्दै गएको छ । परम्परागतरूपमा गरिने बङ्गुरपालनलाई आधुनिक र व्यावसायिक बनाउन सक्ने हो भने यसमा लागेका किसानको आर्थिकस्तर नै फेरिने सम्भावना रहेको बताइएको छ ।

यही सम्भावनालाई दृष्टिगत गर्दै नेपाल वेलहोप एग्रिटेक प्रालि र मेरीगोल्ड बङ्गुर फार्मले परम्परागत बङ्गुरपालन गर्दै आएका किसानलाई व्यावसायिक बनाउन सघाउने उद्देश्यले गाउँगाउँ पुगेर विज्ञद्वारा प्रशिक्षण प्रदान दिने अभियान सञ्चालन गरेको छ । ती संस्थाले झापा, मोरङ, सुनसरी र उदयपुरमा बङ्गुरपालनको पकेट क्षेत्र मानिएका पालिकामा किसानलाई भेला गरेर व्यावसायिक बङ्गुरपालनका बारेमा वैज्ञानिक प्रशिक्षण प्रदान गरिरहेका छन् । यही क्रममा शुक्रबार झापाको बाहुनडाँगीमा जिल्लास्तरीय एक दिवसीय प्रशिक्षण कार्यक्रम गरिएको हो । झापाका १५ पालिकाबाट सहभागी १५० भन्दा बढी किसान सो प्रशिक्षण कार्यक्रममा सहभागी भएका छन् । किसानलाई आधुनिक बङ्गुरपालनका लागि आवश्यक पर्ने खोर, पाठापाठीको प्रजाति, दाना र औषधिसम्बन्धी उपयोगी जानकारी प्रदान गरिएको मेरीगोल्ड बङ्गुर फार्मका सञ्चालक पुनम राईले बताउनुभयो । नेपाल वेलहोप एग्रिटेक प्रालिका प्रबन्ध निर्देशक कुमार पौडेल, डा सुवास रेग्मी र डा नगेन्द्र खड्काले किसानलाई प्रशिक्षण दिनुभएको थियो ।

परम्परागत तरिकाले भन्दा आधुनिक ढङ्गले बङ्गुरपालन गर्दा बढी फाइदा हुने जानकारी प्रशिक्षणबाट पाएको कार्यक्रमका सहभागी अभिषेक लिम्बूले बताउनुभयो । प्रालिका प्रबन्ध निर्देशक पौडेलले उदयपुरको गाईघाट र बेलटार, सुनसरीको धरान र इटहरी, मोरङको पथरी तथा झापाको मेचीनगरमा बङ्गुरपालन व्यवसाय फस्टाइरहेको हुँदा यसलाई आधुनिक, व्यावसायिक र उन्नत तुल्याउन प्रशिक्षण अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । प्रालिले उच्च चिनियाँ तथा नेदरल्याण्डको प्रविधि प्रयोग गरेर बङ्गुर, कुखुरा, बाख्रा, गाईभैँसी र माछालाई खुवाइने २१ प्रकारका दाना उत्पादन तथा बिक्री गर्दै आएको समेत उहाँले बताउनुभयो ।

प्रकाशित मिति : भाद्र २६, २०७८ शनिबार  ९ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]