प्रचण्ड आगो होइनन्, आगो त जनता हुन् : खरेल
बिर्तामोड । नेकपा एमालेका पोलिटव्यूरो सदस्य अग्नी खरेलले गरिवलाई थिच्ने र शोषण गर्ने काम बन्द गर्न आग्रह गरेका छन् । उनले कांग्रेस नेतृत्वको गठबन्धन सरकार बनेपछि गरिवलाई थिच्ने र शोषण गर्ने काममा लागेको आरोप लगाए ।
नेकपा एमाले झापाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खरेलले केपी ओली सरकारले ल्याएका लोकप्रिय कार्यक्रम हटाएर गरिवमाथि थिचोमिचो गरेको बताए । नेता खरेलले भने, भूमिहीनलाई जग्गा दिने र आवास विहीनलाई आवास दिने ओली सरकारको कार्यक्रममा देउवा सरकारले कटौती गरेको भन्दै गरिव, विपन्नमाथि अन्याय हुने काम नगर्न चेतावनी दिए ।

सरकारमा पुगेपछि जनतालाई धम्क्याउने काम गरिरहेको सरकारले अबको निर्वाचनमा भोट माग्न जाने कुनै नैतिक आधार नभएको खरेलको भनाई छ । उनले सरकारमा जान साथ प्रचण्डले आगो हुँ भन्दै जनतालाई थर्काएको बताए । खरेलले भने– ‘प्रचण्डले बुझ्नुपर्छ ,आगो जनता हुन् ।’
सरकारले १४ सय सडक निर्माणका योजनाहरु कटौती गरेको छ । अब १६५ निर्वाचन क्षेत्रमा कांग्रेस माओवादीले कसरी भोट माग्छन् ? खरेलले प्रश्न गरे । उनले एमाले नै मुलुकको भविष्य बोकेको पार्टी भएकाले आम नेता कार्यकर्ताले उच्च मनोवल बनाउनुपर्ने तर्क गरेका छन् ।