आगामी निर्वाचनमा बहुमत ल्याउन ईमान्दार पूर्वक जनसेवामा लाग्नु : ओली
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेता तथा कार्यकर्तालाई इमान्दार पूर्वक जनताको सेवामा क्रियाशिल हुन आग्रह गरेका छन् । झापाको बिर्तामोडमा मंगलवार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमालेका नेता कार्यकर्तालाई माओवादी र कांग्रेस जस्तो हुन छुट नभएको बताए ।
प्रधानमन्त्रीबाट विदा भएपछि पहिलो पटक झापा आएका ओलीले एकताको सन्देश दिदैं आगामी निर्वाचनमा बहुमत ल्याउने दावी गरेका छन् । यसअघिको निर्वाचनमा पनि एमाले सबैभन्दा ठुलो दल भएको स्मरण गराउँदै उनले अझै राम्रो परिणाम ल्याउन थप मेहनतका साथ काम गर्न नेता कार्यकर्तालाई आग्रह गरेका हुन् । उत्साहपूर्ण सहभागीलाई सम्बोधन गर्दै ओलीले एमाले नेता कार्यकर्ता इमान्दार पूर्वक जनताको सेवामा क्रियाशिल भइरहे मात्रै अपेक्षा गरिएको परिणाम ल्याउन सकिने बताए ।

एमालेलाई निर्वाचन जित्न कुनै समस्या नहुने ओलीको तर्क थियो । देश निर्माण गर्ने पार्टी भन्ने आम जनतालाई थाहा छ, उनले भने – ‘विकासको महाअभियान थाल्ने एमालेलाई जनताले जिताउनेछन् । विकास गर्ने पैसा छैन भन्नेहरुलाई जनताले मज्जाले चिनेका छन् ।’
झापा एमालेमा दल विभाजनको शुन्य असरले उत्साहित बनेका ओलीले कार्यकर्तालाई विचलित नभई कम्युनिष्ट आन्दोलनमा लाग्न हौसला प्रदान गरेका छन् । उनले अवसरवादी र षडयन्त्रकारीहरु बाहेक कसैले पनि एमाले छोडन नसक्ने बताएका छन् । जिल्लाभरबाट सहभागी भएका कार्यकर्तालाई ओलीले माधव नेपालको पार्टी नक्कली भएको धारणा राखे । ओलीले भने, तितेपातीहरु बरपिपलसँग दाँजी रहेका छन् । एमालेसँग कुुनै पनि पार्टी तुलनायोग्न नभएको भन्दै उनले अबको निर्वाचनमा एमालेले कसैको बैशाखी नटेक्ने बताए । एमाले आगामी चुनावमा एक्लै भिड्न तयार छ, सरकारले निर्वाचनको तयारी गरे हुन्छ, ओलीले भने । सरकारले दुई महिनासम्म मन्त्रीपरिषद्समेत विस्तार गर्न नसकेको टिप्पणी गर्दै अदालतबाट बनेको सरकारले केहि ख्याँस्न नसक्ने बताए ।
एमाले अध्यक्ष ओलीले प्रचण्ड जनताका लागि धोकेवाज नेता भएको बताएका छन् । उनले प्रचण्ड र माधव नेपालको पार्टीले वडामा समेत जित्न नसक्ने ठोकुवा गरे । ओलीले भने, उहाँहरु यसअघिको निर्वाचनमा हाम्रो कम्मरसम्म आउनु भएको थियो, अब घुँडासम्म मात्रै आउनु हुनेछ । जताततै एमालेको क्रेज बढिरहेको भन्दै ओली देश नै एमालेमय भएको बताए ।
एमालेलाई कसैले पनि हराउन नसक्ने ओलीको भनाई थियो । अहिले बहुमत रहेको एमालेको सरकारलाई षडायन्त्रकारी माधव नेपालका कारण सरकारबाट बाहिरिनु परेको भन्दै उनले नेपाल एमालेसहित कम्युनिष्ट आन्दोलन सिध्याउन लागेको आरोप लगाए ।
संसद् अवरोधको सन्दर्भमा बोल्दै उनले सभामुखको भूमिका गलत भएकाले यस्तो गर्नुपरेको बताए । संसद् अवरोध गरेर ठिक गरेका छौं, उनले भने– जेजे मन लाग्यो त्यहि गर्ने छुट सभामुखलाई छैन ।