बैशाख २८, २०८२ आईतबार

रियाजलाई उत्कृष्ठ बाल प्रतिभा सम्मान

बिर्तामोड । साहित्य चौतारी बिर्तामोड झापाले दमक निवासी रियाज रिजाललाई उत्कृष्ठ बाल प्रतिभा सम्मान प्रदान गरेको छ ।
५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा साहित्य चौतारी झापाको आयोजनामा भएको उत्कृष्ठ बाल प्रतिभा सम्मान एवम् साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा मादल, तवला बजाउन निपूर्ण तथा गायनमा अव्वल छ वर्षीय रिजाललाई उत्कृष्ठ बाल प्रतिभा सम्मान प्रदान गरिएको हो ।

साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक ÷संरक्षक देवीभक्त श्रेष्ठले आफ्नो जन्मदिनको दिन झापाका साहित्य, कला र संगीतको क्षेत्रमा उदीयमान बालबालिकाको अन्तरनीहित प्रतिभालाई प्रोत्साहन गर्ने उद्धेश्यले प्रत्येक वर्ष राष्ट्रिय बाल दिवसको दिन बाल प्रतिभा सम्मान प्रदान गर्नका लागि गतवर्ष बाल प्रतिभा सम्मान स्थापना गरेको घोषणा गरेका थिए ।

सोही घोषणा बमोजिम गत वर्ष झापा बिर्तामोड–२ चारपानेकी बाल गायिका आठ वर्षीया अनुजा कडरियालाई बाल प्रतिभा सम्मान प्रदान गरिएको थियो भने यसबर्ष छ वर्षीय वालप्रतिभा रियाज रिजाललाई बाल प्रतिभा सम्मान प्रदान गरिएको हो ।
साहित्य चौतारी बिर्तामोड झापाका अध्यक्ष हस्त परियारको अध्यक्षता तथा गत वर्षकी बाल प्रतिभा सम्मानित बाल गायिका नौ वर्षीया अनुजा कडरियाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । गत वर्षकी बाल प्रतिभा सम्मानित बाल गायिका कडरियालाई यस वर्ष र यसवर्षको बाल प्रतिभा रियाज रिजाललाई अर्को वर्ष प्रमुख अतिथि बनाइने कार्यक्रममा जानकारी दिइयो ।

संस्थाका उपाध्यक्ष कृष्ण सुवेदी निराकारले स्वागत गरेको कार्यक्रममा बाल प्रतिभा रिजाललाई कदर पत्र, खादा, दोसल्ला र नगदसहितको बाल प्रतिभा सम्मान प्रदान गरिएको थियो भने रियाजकी आमा र अनुजाका मातापितालाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा रिजालले मादल , तवला बजाएर सवैलाई मन्त्रमुग्ध बनाएका थिए भने प्रमुख अतिथि वाल गायिका कडरियाले गीत , बाल नृत्याङ्गना ११ वर्षीया गीर्वाणी पोख्रेलले नृत्य, ११ वर्षीय बाल कवि प्राञ्जल दाहालले कविता, रोहिता तिम्सिना र दिया काफ्लेले गीत प्रस्तुत गरेका थिए । त्यस्तै डिल्लीराम परदेशीले बालकविता प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी कडरियाले साहित्य चौतारीले आफूलाई प्रमुख अतिथि बनाएर बाल प्रतिभालाई जिम्मेवार उन्मुख बनाउन प्रेरणा प्रदान गरेको बताइन् । त्यस्तै बाल प्रतिभा रिजालले साहित्य चौतारीले आफूले हालसम्म प्राप्त गरेको सम्मान भन्दा उत्कृष्ठ सम्मान प्रदान गरेको बताए । सोही कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक÷संरक्षक देवीभक्त श्रेष्ठको जन्मोत्सव समेत मनाइएको थियो । संस्थाका सदस्य जीवनजगदिश धितालले संस्थापक/ संरक्षक श्रेष्ठको जीवनी प्रस्तुत गरेका थिए ।

होटल व्यवसाय, फोटोग्राफी व्यवसायमा समेत अब्वल मानिएका श्रेष्ठले २०५६ साल असार ३१ गते आफ्ना मातापिता तथा पितृहरुको स्मृतिमा पुरस्कार स्थापना गरी साहित्य चौतारी बिर्तामोड झापाको स्थापना गरेर हालसम्म साहित्य, कला र संगीतको क्षेत्रमा, महत्वपूर्ण योगदान पुर्याएको कार्यक्रममा बताइयो ।

कार्यक्रममा श्रेष्ठलाई कार्यक्रमका विशिष्ठ अतिथि अर्जुनधारा जलेश्वर धामका मूल अर्चक अग्नीप्रसाद सिग्देलले स्वस्तीवाचनसहित अर्जुनधारा जलेश्वर धामको पञ्चधाराको जल र रुद्राभिषेकको जलद्वाराअभिषेक गरि शुभआशिष दिएका थिए । त्यस्तै संस्थाका वरिष्ठ सल्लाहकार अनिरुद्र ओली,पूर्व महासचिव राजेन्द्रकुमार संग्रौला, सहभागी श्रष्टा लगायतले टीका, खादा अर्पण गरी दीर्घजीवनको कामना गरेका थिए । कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक संरक्षिका उर्मिला विमली श्रेष्ठ, गौरव श्रेष्ठ, गर्ग श्रेष्ठ, साहित्य चौतारी झापाका कोषाध्यक्ष भवानीप्रसाद गौतम,हिकोला कलरल्यावका प्रमुख कुमार श्रेष्ठ , होटल हिकोला हेरिटेजका व्यवस्थापक विवेक बराललगायतको सहभागिता रहेको थियो ।

सोही कार्यक्रममा रियालिटी सो द भ्वाइस अफ किड्समा छनौट भएकी बाल गायिका अनुजा कडरियालाई सहभागीले सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृति दिवसको अवसरका बाल प्रतिभा रियाजले तवला, संगित प्रशिक्षक कमला खनाल रिजालले हारमोनियमको तालमा संरक्षक तथा संस्थापक श्रेष्ठले देवकोटाको कुन मन्दिरमा जान्छौ यात्री.. वोलको गित प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन साहित्य चौतारी झापाकी महासचिव खगिन्द्रा खुशीले गरेकी थिइन् ।

प्रकाशित मिति : भाद्र ३०, २०७८ बुधबार  ६ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]