बजारमा स्वास्थ्य मापदण्ड पालना भएन
सम्पादकीय
व्यापारीको चर्को दवावले खुलाइएको बजारमा आम उपभोक्ता जोखिममा परेका छन् । उपभोक्ताको आवश्यकता र व्यापारीले व्यापारका लागि कोरोना महामारीका बिचमा पनि बजार खोलिएको छ । झापाको बजार अहिले नै खुलाउने परिस्थिति बनेको होइन । बजारलाई व्यापारीको आवश्यकताले खुलाइएको हो । जिल्ला प्रशासन कार्यालयमा व्यापारीले पटक–पटक धर्ना कसेका कारण बजार खोल्न अनुमति दिइएको छ । बजार खोल्नका लागि व्यापारीलाई शर्त राखिएको थियो । तर, शर्त सबैले बिर्सिसके ।
झापा देशभरमा अहिले पनि उच्च संक्रमण दर भएको जिल्ला हो । हरेक दिन संक्रमितको मृत्यु र एक सयभन्दा बढी संक्रमित हुने जिल्लामा यति धेरै खुल्ला गरिनु स्वभाविक मान्न सकिदैन । कोरोना नियन्त्रण र व्यवस्थापनका लागि यत्तिका धेरै प्रयास हुँदा पनि झापामा अझै नियन्त्रण हुन सकिरहेको छैन । स्वभाविक रुपमा बजार सधैं बन्द गरिरहनु हुँदैन । तर, खुल्ला गर्दा अस्तिका शर्तहरु निशर्त पालना गर्नुपर्छ । स्वास्थ्य मापदण्ड पालना गर्ने, सामाजिक दुरी कायम गर्ने गराउने, व्यवसाय स्थललाई सुरक्षित बनाउने शर्त थियो । अहिले कुनै पनि पालना भएको छैन ।
आजबाट चाडवाड शुरु भएको छ । हिजो मात्रै बिर्तामोडमा विश्वकर्मा पुजाको तयारी गर्नेहरुले सामग्री खरिद गर्न ठुलै जोखिम मोले । जताततैको भीडभाडमा पसेर सर्वसाधारणले सामग्री खरिद गर्नुपरेको छ । पुजा सामग्री मात्र होइन, बजारमा सबै जसो व्यवसायमा अहिले मापदण्ड पालना गरिएको पाइदैन । स्वास्थ्य मापदण्ड पालना नगर्दा उपभोक्ता जोखिममा परेका छन् । बजारमा उपभोक्ता र व्यवसायीको सुरक्षाका लागि आवश्यक मापदण्ड पालना गरौं । चाडवाडलाई सुखद् बनाउने हो भने बेलैमा सतर्कता अपनाऔं ।