बैशाख २७, २०८२ शनिबार

बिर्तामोडमा मेयर पकेट कार्यक्रम प्रभावकारी

बिर्तामोड । बिर्तामोड नगरपालिकाले १५ समूहलाई बंगुरका पाठा वितरण गरेको छ । बिर्तामोड–७ मा शनिवार हरेक समूहलाई २-२ वटाका दरले पाठा वितरण गरिएको पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिइन् ।

मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत दलित, आदिवासी, जनजाति महिलालाई लक्षित गरेर बंगुरका पाठा वितरण गरिएको हो । समूहलाई १ थान बुचो र १ थान भुनी प्रदान गरिएको दाहालको भनाई छ । बिर्तामोड नगरपालिकाको उपप्रमुख पवित्रा महतरा प्रसाई र ७ नं. वडाध्यक्ष चन्द्रकला पकुवालले कृषकलाई पाठा हस्तान्तरण गरेका हुन् । उपप्रमुख प्रसाईले किसानको जीवनस्तर उकास्दै कृषि तथा पशुपालनमा व्यवसायिक बनाउन स्थानीय सरकारको तर्फबाट सहयोग हुने बताइन् ।

यो कार्यक्रममा पाठाहरु साटासाट गर्ने व्यवस्था मिलाइएको शाखा प्रमुख दाहालले बताइन् । अहिले पाठा पाउने किसानले २ वर्षभित्र २ पाठा बराबर २ पाठा नै फिर्ता गर्नुपर्छ । उनीहरुले फिर्ता दिएको पाठा अन्य किसानलाई सोही अनुसार दिइनेछ । दाहालका अनुसार ०७४ सालबाट नगरपालिकाले मेयर पकेट प्याकेज कार्यक्रममा साटासाट गर्दै हालसम्म २७० वटा बंगुरका पाठा वितरण गरेको छ ।
सो कार्यक्रममा बाख्रा र बंगुर वितरण गर्दै आएको छ । नगरले एक पटक लगानी गरेर दिएको पाठाबाट बच्चा उत्पादन गरेर किसानले फिर्ता दिने गरेका छन् । नगरले किसानलाई बीमा, औषधि उपचार र खोर निर्माणमा सहयोग गर्ने गरेको छ । दाहालले उक्त कार्यक्रम प्रभावकारी भएको बताइन् ।

प्रकाशित मिति : आश्विन ३, २०७८ आईतबार  ७ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]