स्याटरडे स्कुलले मनायो आफ्नो ५ औँ वार्षिक उत्सव
बिर्तामोड । बिर्तामोडस्थित स्याटरडे स्कुलले आफ्नो ५ औँ वार्षिक उत्सव मनाएको छ । शनिवार विद्यालयमा विद्यार्थीहरुलाई वृक्षारोपण र बगैँचा व्यवस्थापनको कक्षा दिँदै वार्षिक उत्सव मनाएको प्रिन्सिपल सरोज खरेलले जानकारी दिए । मेचीनगर ९ स्थित डी एन्ड डी बायो प्लान टेकका सञ्चालक डिल्ली उप्रेतीले कक्षाको सहजीकरण गरेका थिए ।

कार्यक्रममा नानी बाबुहरूलाई वातावरण संरक्षणसँगै वृक्षारोपणको महत्त्व बारे जानकारी गराइएको थियो । कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूलाई सम्मान गरिनुका साथै बिरुवा वितरण समेत गरिएको थियो । बालबालिकाहरूमा अतिरिक्त ज्ञान तथा सिपको आवश्यकतालाई बुझेर बिर्तामोडमा ५ वर्ष अघि विद्यालय सञ्चालनमा आएको हो । विद्यालयले नृत्य, गायन, सङ्गीत, हस्त कला, उद्घोषण लगायतका विषयमा विद्यार्थीहरुलाई कक्षा दिँदै आएको छ ।
विद्यालयबाट हाल सम्म ४ सय विद्यार्थीले शिक्षा लिई सकेको र चाँडै बालबालिकाहरूलाई मोबाइल रिपेयरिङ, व्युटिसियन, इलेक्ट्रिसियन जस्ता व्यवहारिक विषयमा कक्षा दिइने संस्थापक प्रणीत पुडासैनीले जानकारी दिए । शनिवारको बालबालीहरुको खाली समयलाई सदुपयोग गर्दै बालबालिकालाई अतिरिक्त विषय तथा व्यवहारिक सीपमा दक्ष बनाऊ विद्यालय सञ्चालनमा आएको हो ।