अर्धनग्न भेटिएकी बस्नेतको अनुसन्धानमा अझै भेटिएन बलियो प्रमाण
बिर्तामोड । गत असार महिनाको अन्तिममा मृत भेटिएकी बिर्तामोड–५ कि सिर्जना बस्नेतको अनुसन्धान जारी रहेको झापा प्रहरीले जनाएको छ । प्रहरीले बलियो प्रमाण फेला नपारेसम्म घटनाबारे बोल्न नसकिने जनाएको छ ।

२५ वर्षीया युवती बस्नेतको सुगम पेट्रोल पम्प उत्तरमा अर्धनग्न अवस्थामा शव फेला परेको थियो । डेरा बसेको घर मुनी बस्नेत फेला परेकी थिइन् । चौथो तलमा बस्ने बस्नेतको शव अर्धनग्न अवस्थामा भुईमा भेटिएको थियो । उनको हत्या हुन सक्ने आशंकामा सोही अनुसार अनुसन्धान गरिएको प्रहरीको भनाई छ । झापाका प्रहरीका प्रवक्ता राकेश थापाले अहिलेसम्म सो घटनाको बलियो प्रमाण फेला नपरेको बताए । उनले भने, प्रमाण फेला नपरेसम्म अनुसन्धान चलिरहन्छ । प्रवक्ता थापाले भने, यहिसम्मको अनुसन्धानमा भेटिएको कुरा भनौला, फेरि अनुसन्धान गर्ने क्रममा अर्को विषय भेटिन सक्छ । त्यसैले अनुसन्धान नसकिएसम्म यसै भन्न सकिदैन ।
बस्नेतको घटनामा झापा प्रहरी र प्रदेश प्रहरीले पहिलो चरणमा अनुसन्धान गरेको थियो भने दोस्रो चरणमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआइवी) ले अनुसन्धान गरेको झापा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाहिर आएजस्तो परीक्षणका क्रममा पुष्टि भएको छैन । शव फेला पर्न साथ बलात्कार पछि हत्या भएको आशंका गरिएको थियो । प्रहरी भन्छन्, परीक्षणमा बलात्कार भएको पाइदैन । ‘रेप पनि भएको छैन, कोहि मान्छे प्रवेश गरेको पनि पाइदैन । घरभित्र कोहि कसैसँग विवाद भएको पनि भेटिएन’, अनुसन्धानमा खटिएका एक प्रहरीले भने । उनको मृत्यु कसरी भयो भन्ने अझै रहस्यमय बनेको छ । बस्नेत छतको गारोमा बस्दा अन्जानमा खसेको हो कि भन्ने आँकलन समेत गर्न थालिएको छ ।