भद्रपुरमा ११ वर्षीया बालिकालाई बाँधेर निर्घात कुटपिट
झापा– प्रदेश-१ मा नै पहिलो पटक बालमैत्री नगर घोषणा गरिएको झापाको भद्रपुरमा ११ वर्षीया बालिकालाई बाँधेर निर्घात कुटपिट भएको छ। भद्रपुर-५ की ११ बर्षीया कविता राजवंशीमाथि स्थानीय कृषि फर्ममा काम गर्ने ३० वर्षीय अनिल पौडेलले खम्बामा बाँधेर कुटपिट गरेका हुन् ।
पौडेल कार्यरत फर्ममा बाख्रा पसेको निहुँमा बालिकालाई निर्घात कुटपिट भएकाले दोषीलाई कारबाही गर्न बालबालिकाको संस्था नगर बाल सञ्जालले माग गरेको छ ।

सुनसरीको इनरुवा घर भएका पौडेलले खम्बामा बाँधेर बालिकालाई कुटपिट गरेकाले कारबाहीको माग गरिएको नगर बाल क्लव सञ्जाल भद्रपुरकी अध्यक्ष आरध्या प्याकुरेलले बताउनुभयो । बालबालिकाको स्वतन्त्र रूपमा बाँच्न पाउने संवैधानिक हकको हनन भएको हुँदा आवश्यक छानबिन गरी दोषीउपर कानुन बमोजिम कडाभन्दा कडा सजाय गर्न सञ्जालको माग छ।
बुधबार बाख्राले बाली खाएको निहुमा बाँधेर कुटपिट गरेको पाइएको भद्रपुर नगरपालिकाका प्रमुख जीवन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बालिकाको घरका बाख्रा नभएर अर्कौको बाख्राले बाली खाएको थियो। तर पौडेलले बालिकाकै बाख्राले बाली खाएको भन्दै निर्घात कुटपिट गरेको पाइएको छ।
बालिका कुटपिट गर्नेलाई नियन्त्रणमा लिएर कारबाही गर्नका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरीमा उजुरी दिएपनि कुनै कारबाही नभएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । बालिका कुटपिट गर्नेले उनका घरमा आएर उजुरी नहाल्न चेतावनी दिएको पाइएपछि नगर बाल क्लव सञ्जालका तर्फबाट उजुरी गरिएको सञ्जाल अध्यक्ष प्याकुरेलले बताउनुभयो ।