लोभले रोकिएन ठगी
सम्पादकीय
एक जना महिला सामाजिक सञ्जाल फेसबुक,वाटसप, भाइबरको माध्यमबाट १० लाख ५० हजार रुपैयाँ ठगीमा परिन् । अन्जान व्यक्तिको विश्वासले महिला ठगिएपछि प्रहरीमा उजुरी दिन पुगिन् । उनले महानगरीय प्रहरी महाशाखा काठमाडौंमा उजुरी दिईन् । ठगी गर्ने व्यक्तिको खोजी गर्दै जाँदा सिलिगुडीमा सन्दीप क्षेत्री भएको प्रहरी अनुसन्धानबाट खुल्यो । झापा प्रहरीले ती व्यक्तिलाई काँकरभिट्टाबाट पक्राउ गर्न सफल भएको थियो । अहिले आवश्यक कारवाहीका लागि काठमाडौं पठाइएको छ । सामाजिक सञ्जालमा ठगी भएको यो पहिलो घटना होइन । यस प्रकारका कयौं घटना भएका छन् ।
सामाजिक सञ्जालको प्रयोगलाई व्यवहारिक बनाउन नसक्दा धेरैले ठगीनु परेको छ । सामाजिक सञ्जाल फेसबुक, वाटसप, भाइवरका आएका केही अफवाहलाई विश्वास गर्दा मानिसहरु ठगिएका मात्र छैन्, ज्यान नै गुमाएको घटना पनि छ । सामाजिक सञ्जालको प्रयोगलाई आवश्यक रुपमा मात्र प्रयोग गरौं । यसको अनावश्यक प्रयोग र अनावश्यक व्यक्तिसँगको हेलमेलले खासै सकारात्मक परिणाम दिएको छैन । सामाजिक सञ्जालको सहि सदुयोग हुनुपर्छ । जबसम्म सहि सदुपयोग हुदैन तबसम्म क्षति व्यहोनुपर्छ । अन्जान व्यक्तिलाई गरेको विश्वासका कारण ठगिनेहरुका कथा पढेर हरेक प्रयोगकर्ता सचेत हुन जरुरी छ ।
भर्खरै पक्राउ परेका व्यक्तिले धार्मिक खोल ओढेर ठगी गरिहरेको स्पष्ट छ । उनी सिलिगुरी स्थित एक चर्चका पादरी भएको खुलेको छ । उनले सामाजिक सञ्जाल मार्फत विभिन्न सामग्री पठाइदिने नाममा सर्वसाधरणलाई ठगी गरिरहेका छन् । पछिल्लो समय यस प्रकारका माध्यमबाट विभिन्न लोभलालचा देखाउँदै सर्वसाधरणको विश्वास जित्ने र ठगी गर्ने गिरोह नै परिचालित भएको पाइन्छ । प्रायः धेरैलाई चिठ्ठामा लाखौं रुपैयाँ परेको जानकारी पठाउने र त्यसपछि कर तिर्न केही रकम आवश्यक पर्ने जानकारी दिदैं रकम माग गर्ने गरेको पाइन्छ । जो कोहीको साथी बन्न हुदैन । जो कोहिलाई विश्वास गर्न हुदैन । आवेशमा लोभमा फसेर जीवनमा ठुलो क्षति आइलाग्न सक्छ । बेलैमा सतर्क बनौं ।