बिर्तामोड नगरपालिकाको समीक्षा : सबै शाखाको प्रगति उल्लेख्य
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रगति समीक्षा गरेको छ । सोमवार विहान आयोजना गरिएको समीक्षा तथा २०७८/०७९ को नगर विकास योजना सार्वजनिकीकरणमा विषयगत शाखाका प्रमुखहरुले प्रगति विवरण सार्वजनिक गरेका छन् ।
नगरपालिकामा रहेको १२ वटा शाखाले आ.व.२०७७/०७८ मा सम्पन्न गरेको योजना र आगामी योजना तथा कार्यक्रम प्रस्तुत गरेका थिए । शिक्षा शाखा प्रमुख तिलचन भण्डारी,कृषि शाखा प्रमुख राजेन्द्र कडरिया, पशुपंछी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहाल, स्वास्थ्य शाखा प्रमुख तुलसी पोखरेल, योजना शाखा प्रमुख जय तिम्सिना,आर्थिक प्रशासन शाखाका निमित्त प्रमुख प्रकाश न्यौपाने, राजश्व शाखाका प्रमुख पदमराज घिमिरे, कानुन शाखा प्रमुख टिकामाया लामिछाने, घर नक्शा शाखा प्रमुख प्रभाव थापा मगर, पञ्जिकरण इकाई शाखा प्रमुख अशेष अधिकारी, प्रधानमन्त्री रोजगार कार्यक्रम प्रमुख होमनाथ भट्टराई र उद्यम विकास कार्यक्रम प्रमुख चरीमाया तामाङ्गले आ–आफ्नो शाखाको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

अधिकांश शाखाले लक्ष्य अनुसार प्रगति हासिल गरेको प्रस्तुति विवरणमा उल्लेख छ । शाखाहरुले कोरोना महामारीका बिचमा पनि लक्ष्य पुरा गरेको पाइएको छ । कतिपय शाखाले लक्ष्य शत प्रतिशत पुरा नगरे पनि लक्ष्य नजिक पुगेको छ । बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहालले विगतको प्रगति, समस्या र अनुभवले आगामी दिनमा काम गर्न सहज हुने बताएका छन् । उनले शाखा प्रमुख, कर्मचारीहरुलाई समीक्षा कार्यक्रमले चालु आर्थिक वर्ष थप प्रगति हासिल गर्न सहयोग पुग्ने बताए ।
प्रमुख प्रशासकीय अधिकृत दाहालले नगरवासीको सपना पुरा गर्नका लागि अहिलेसम्मका अनुभव र सिकाईलाई आगामी दिनमा थप प्रभावकारी बनाउन आग्रह गरे । उनले समीक्षाले नै आगामी दिनमा गर्नुपर्ने कामको दिशानिर्देश हुने बताए ।
शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले कोभिडले प्रभावित बनाउने कार्यक्रम बाहेकका कार्यक्रम सम्पन्न गरेको जानकारी दिए । उनले शिक्षा तर्फको बजेट ९३.९ प्रतिशत खर्च गरेको जानकारी दिए । नगर क्षेत्रमा १६ वटा विधालयमा खाजा घर निर्माण, प्रविधिमैत्री कक्षा कोठाहरु निर्माण गरिएको भण्डारीको भनाई छ । उनले बिर्तामोड क्षेत्रमा सामुदायिक तथा निजी विधालयले एउटै शैक्षिक क्यालेण्डर मार्फत काम गरिरहेको बताए ।
कृषि विकास शाखाका प्रमुख राजेन्द्र कडरियाले बिर्तामोडमा सिचाँईको पर्याप्त व्यवस्था मिलाएको बताएका छन् । सहारा नेपाल ७५ र नगरपालिकाले १२७ वटा साना बोरिङको जडान गरेको बताए । २०२ वटा बोरिङले ६०६ विगामा सिचाँई सुविधा पुराएको कडरियाले जानकारी दिए । कृषकलाई कृषि सामग्री वितरण, कृषक पाठशाला, आइपीएम कार्यक्रम सञ्चालन गरिएको उनको भनाई छ । उनका अनुसार बिर्तामोडमा एक समूह एक उत्पादन कार्यक्रम प्रभावकारी भएको छ । बिर्तामोड भित्र सोही कार्यक्रम मार्फत ८६ विगाहमा आलु खेती लगाइएको छ । तरकारी पकेट कार्यक्रम अन्तर्गत पौस महिनाभित्र तरकारी बजार व्यवस्थापन गर्ने बताइएको छ । कृषि शाखा प्रमुख कडरियाले नगर क्षेत्रमा ७१ जनाले व्यवसायिक रुपमा तरकारी खेती गरिरहेको जानकारी दिए ।
यस्तै, पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले शाखा मार्फत हुने कार्यक्रमहरु पूर्ण रुपमा सम्पन्न भएको बताइन् । उनले शाखाबाट प्रवाह हुने सेवामा लाभग्राही सन्तुष्ट रहेको जानकारी दिइन् । उनले मेयर पकेट कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भइहरेको र किसानले राम्रो लाभ लिएको बताइन् ।
यस्तै, स्वास्थ्य शाखाका प्रमुख तुलसी पोखरेलले शाखाको बजेट मध्ये ५३.१७ प्रतिशत खर्च भएको जानकारी दिए । उनले नगर क्षेत्रबाट स्वास्थ्य सेवा मार्फत नागरिकले सुविधा लिइरहेको बताए । राजश्व शाखाका प्रमुख ०७७/७८ मा २९ सय २१ वटा नयाँ व्यवसाय दर्ता भएको जानकारी दिए । उनले १५२ जनाले व्यवसाय बन्द गराएको बताएका छन् । घिमिरेका अनुसार राजश्व सम्बन्धि २ वटा कानुन निर्माण गरिएको छ ।
सो शाखाले २ करोड ५० लाख घर बहाल कर संकलन गर्ने लक्ष्य बनाएको थियो । तर, कोभिड महामारीका कारण १ करोड ९५ लाख ५० हजार ६ सय ७ रुपैयाँ घर बहाल कर उठाएको सार्वजनिक गरे । आर्थिक प्रशासन शाखाका प्रकाश न्यौपानेले गत आ.व.मा ९६.१७ प्रतिशत खर्च गरेको विवरण सार्वजनिक गरेका छन् । ०७६/७७ मा ९३.३१ प्रतिशत खर्च गरेको नगरपालिकाले पछिल्लो आ.व.मा खर्च प्रतिशत बढाएको छ ।
कानुन शाखा प्रमुख टिकामाया लामिछानेले जिल्ला अदालतको अनुगमनमा बिर्तामोड नगरपालिका उत्कृष्ट भएको जानकारी दिइन् । कानुन, न्याय सम्पादनमा बिर्तामोडको प्रगति उल्लेख्य रहेको विवरण सार्वजनिक गरिएको छ ।
घर नक्सा शाखाका प्रमुख प्रभास थापाले बिर्तामोड नगरपालिकाले अनलाइन प्रणालीबाट सेवा उपलब्ध गराइरहेको जानकारी दिए । उनले नगरभित्रको घर नक्सा अवस्था बारे जानकारी गराएका छन् । कागजबाट काम गर्ने परम्परागत प्रणालीबाट घर नक्सा शाखा डिजिटलाइज भएको थापाको भनाई छ । उनले आगामी दिनमा सेवालाई थप सरहल र सहज बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
रोजगार सेवा केन्द्रका प्रमुख होमनाथ भट्टराईले बिर्तामोड नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत विकास निर्माणका योजना सम्पन्न गरेको बताएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी श्रमिकलाई उनले नगरभित्र झारपात उखेल्न नलगाएको बताए । विकास निर्माणमा सरिक गराउँदै कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरिएको दावी गरे ।