बैशाख २८, २०८२ आईतबार

भारतीय पक्षका कारण खुलेन भद्रपुर नाका

झापा । भारतले नमानेपछि झापाको भद्रपुर सीमा नाका सञ्चालनमा आउन सकेको छैन । गृह मन्त्रालयको परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालय झापाले आज शुक्रवारदेखि जिल्लाका भद्रपुरसहित साबिक नाकाहरू पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।  नेपालले एकतर्फी नाका सञ्चालन गर्ने निर्णय गरेपनि भारतीय एसएबसीले माथिको आदेश नआएको भन्दै भद्रपुर–गलगलिया नाका बन्द राखेको छ । 

भारतीय एसएबसीले कसैलाई पनि नेपाल आउने र भारततर्फ जान अनुमति नदिँदा मेची पुल पुगेका सर्वसाधारण जनता निराश भएर फर्किएका थिए । भारतीय पक्षले नमानेपछि भद्रपुर नगरपालिकाले आज सीमा नाकामा साढे ११ बजे स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क उद्घाटनको कार्यक्रम पनि सरेको छ । 

यता सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरका इन्स्पेक्टर विभुराज दाहालले भारतीय एसएसबी ४१ बटालियन भात गाउँका इन्स्पेक्टर सत्यनारायणसँग नाका खुलाउने विषयमा सहजिकरणका लागि पुगेका थिए । एसएसबीका इन्स्पेक्टर सत्यनारायणले एसएसपी ४१ बटालियन रानिडाँगाका एसएसपी सुवासचन्द्र नेगीलाई त्यस बारेमा बुझेका थिए । 

एसएसपी नेगीले भद्रपुर नाका खुलाउने विषयमा माथिबाट आदेश नआएको हुँदा नाका तत्काल बन्द राख्न इन्स्पेक्टर सत्यनारायण आदेश दिएको बताइएको छ । भद्रपुर नाका नखुलेपछि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले शुक्रबार बिहान विहार किशनगञ्जका डिएम कुमार आशिससँग फोन सम्पर्क गरेका थिए । 

किशनगञ्जका डिएम आशिसले नाका खुलाउने विषयमा आफूलाई पनि कतैबाट आदेश नआएको र नेपालले गरेको निर्णय पठाइदिन प्रजिअ तिमिल्सिनालाई आग्रह गरेका थिए । प्रशासन कार्यालय झापाले डिएम आशिसलाई नाका सञ्चालन गर्ने बारेको निर्णय पठाइसकेको बताउँदै प्रजिअ तिमिल्सिनाले ‘किशनगञ्जका डिएमले नाका खुलाउने विषयमा सहजीकरण गर्ने जनाएको छ । त्यसका लागि उहाँले एक÷दुई दिनको समय माग्नु भएको छ ।’ 

सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी रमेशकुमार पाण्डेले भारतीय सुरक्षा निकायका प्रमुखसँग नाका खुलाउने विषयमा सहजीकरण भइरहेको बताए । नाका खुलाउँदा दुवै तर्फ हेल्थ डेस्क राख्नु पर्ने भएकोले दुवै देशका प्रशासन प्रमुृखहरुको उपस्थितिमा नाका सञ्चालन गर्ने विषयमा समेत कुराकानी भइरहेको उनले बताए । कोरोना महामारीले विगत १९ महिनादेखि बन्द रहेको भद्रपुर नाका सञ्चालनमा नआउँदा यहाँलगायत दक्षिणी भेगका जनता काँकडभिट्टा नाका प्रयोग गर्नुपर्ने बाध्यता छ । सरकारले भद्रपुरको मेची नदीमा ३७ करोड रुपैयाँ खर्च गरेर मेची पुल बनाएको छ ।

प्रकाशित मिति : आश्विन १५, २०७८ शुक्रबार  ४ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]