डिजिटल तराजुहरु नियन्त्रण, कागज गर्दै छोड्दै
बिर्तामाड । झापामा जिल्ला प्रशासन कार्यालयसहित अख्तियार प्राप्त कार्यालयहरुले बजार अनुगमन गरिरहेको छ । बडादशैंको पूर्वसन्ध्यामा बजार अनुगमन गर्दै बद्मासी गर्ने व्यवसायीलाई साधारण सचेत मात्र गराइएको छ ।
स्थानीय तहसँगको समन्वयमा जिल्लास्थित प्रशासन कार्यालयले बजारमा अहिलेसम्म गलत गर्ने व्यवसायीलाई कारवाही गरेको छैन ।
अनुगमनमा गुणस्तर तथा नापतौल कार्यालय झापा समेत सहभागी रहेको छ । कार्यालयले असोज १ गतेदेखि १३ सम्ममा २० वटा फर्महरु पाँच वटा पेट्रोल पम्प, सिमेन्ट उद्योग, हार्डवयर पसल, किराना पसल र मिठाई पसलमाहरुमा अनुमन गरेको जनाएको छ ।
कार्यालयका प्रमुख मुकुन्द चौहानले अनुगमनका क्रममा नवीकरण म्याद सकिएका फर्महरुलाई तत्काल नवीकरण गर्न निर्देशन दिएको बताए । उनले कपियय पसलहरुले अनुमति नलिई प्रयोग गरेका डिजिटल तराजुहरु नियन्त्रणमा लिएर कारवाही अगाडि बढाइएको समेत बताए ।
उनले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा रहेको अनुगमन समितिसँग मिलेर पनि बजार अनुगमन कार्यलाई तीब्रता दिएको जानकारी दिए । उपभोक्ताहरुको गुनासो आएपछि झापाका सात वटा सिमेन्ट उद्योगहरुबाट सिमेन्टको नमूना संकलन समेत गरिएको बताए । नमूना संकलन गरिएका सिमेन्टको गुणस्तर उपभोक्ताले भने झै कम पाइएमा कारवाही गरिने उनको भनाई छ ।
कनकाईमा म्याद गुज्रिएका सामान छ्यापछ्याप्ती
कनकाई नगरपालिकाले नगर क्षेत्रका बजारको अनुगमनलाई तिव्रता दिएको छ । चाडपर्व नजिक आउँदै गरेको अवस्थामा खाद्य सामग्री लगायत विविध पक्षमा अनियमितता नहोस् भन्ने उद्येश्यका साथ अनुगमनलाई तिव्रता दिन थालिएको कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँले बताएकी छन् ।
उपप्रमुख प्रसाईँको नेतृत्वमा कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने, आलेप अधिकृत कृष्णप्रसाद रिमाल, उमानाथ ढकाल लगायतका नगरपालिकाका कर्मचारीहरु, सम्बन्धित वडाका जनप्रतिनिधि, संचारकर्मी, सुरक्षाकर्मी सहितको सहभागितामा नगर क्षेत्रका दुर्गापुर, लक्ष्मीपुर, घैलाडुवा बजार क्षेत्र अनुगमन गरिएको हो ।
बजार अनुगमनका क्रममा बजार क्षेत्रका धेरै पसलहरुमा मूल्य सूची नराखेको पाइएको छ । व्यवसाय दर्ता, नवीकरण, नगरपालिकाको दर्ता नविकरण नभएकालाई सो सम्बन्धी व्यवस्था मिलाउँन सुझाव दिइएको बताइएको छ । बजार क्षेत्रका व्यापारीहरुले डिजिटल नापतौलको प्रमाण पत्र नलिइएको साथै प्याकेजीङ कम्पनीले उत्पादनसँग सम्बन्धित विषय नखुलाएको पाइएकाले सो विषयमा व्यवसायीहरुको ध्यानाकर्षण गराइएको उपप्रमुख प्रसाईँले जानकारी दिएकी छन् ।
बजार क्षेत्रमा रहेका व्युटीपार्लर, कसमेटिक पसलहरुमा प्रयोग हुने श्रृङ्गारका सामग्रीहरु र खाद्य सामग्रीका पसलहरुमा म्याद गुज्रिएका सामान छ्याप छ्याप्ती भेटिएकाले अनुगमनका क्रममा बराबद भएका त्यस्ता सामग्रीहरु नष्ट गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । व्यापारीहरुले सामान खरिद गरेको र ग्राहकलाई दिने बिल चुस्त दुरुस्त नभएको पाइएको छ । मासु व्यवसायीहरुले थप सरसफाईमा ख्याल राख्नुपर्ने अवस्था देखिएको साथै यसअघि अनुगमनका क्रममा व्यवसायीहरुलाई दिएको निर्देशन सामान्य पालना भएकाले केही सुधार भएको देखिएको उपप्रमुख प्रसाईँले बताएकी छन् । थप चुस्त दुरुस्त रहनका लागि व्यवसायीहरुलाई सुझाव दिँदै आवश्यक्ता अनुसार कागज गराएर छाडिएको बताइएको छ ।