उम्मेदवार छनोटमा पैसाभन्दा लोकप्रियतालाई आधार मान्न सुझाव
काठमाडौं– नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनमा समूहगत छलफल सुरु भएको छ ।
ललितपुरको गोदावरीस्थित सन्राइज सम्मेलन केन्द्रमा शुक्रबार प्रस्तुत गरिएका विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमा समूहगत छलफलमा सुझाव दिँदै प्रतिनिधिहरुले आगामी तीनवटै तहको निर्वाचनमा उम्मेदवारी छनोटमा विशेष ध्यान दिन आग्रह गरिएको छ । सहभागीका अनुसार उम्मेदवार छनोट गर्दा पैसाभन्दा पनि लोकप्रियतालाई आधार मान्न सुझाव दिइएको छ ।
प्रतिनिधिहरुले गुटबन्दी अन्त्य गर्न पनि सुझाव दिएका छन् । विभिन्न १० समूहमा समूहगत छलफल भइरहेको एमालेका केन्द्रीय सदस्य तथा प्रचारप्रसार उपसमिति संयोजक खिमलाल भट्टराईले जानकारी दिनुभयो ।
राजनीतिक प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदन महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्ताव उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको थियो ।
तीनवटै प्रतिवेदनमाथि समूहगत छलफलका लागि प्रदेश नं १ को समूहको सहजीकरण सुवास नेम्वाङ र भीम आचार्यले गर्नुहुने छ । प्रदेश नं २ को समूहको सहजीकरण सत्यनारायण मण्डल र रघुवीर महासेठ, बागमती प्रदेश समूहको सहजीकरण अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा, गण्डकी प्रदेश समूहको सहजीकरण पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङले तथा लुम्बिनी प्रदेश समूहको सहजीकरण विष्णु पौडेल र शङ्कर पोखरेलले गर्नुहुने छ ।
यस्तै कर्णाली प्रदेश समूहको सहजीकरण युवराज ज्ञवाली र यामलाल कँडेल, सुदूरपश्चिम प्रदेश समूहको सहजीकरण भीम रावल र लेखराज भट्टले गर्नुहुने छ । उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र प्रवास क्षेत्रबाट आएकाको समूहको सहजीकरण छविलाल विश्वकर्मा र राजन भट्टराई, जनसङ्गठनको समूहको सहजीकरण गोकर्ण विष्ट र टोपबहादुर रायमाझी, केन्द्रीय निकाय तथा केन्द्रीय विभाग समूहको सहजीकरण अमृत बोहरा र पुष्प कँडेलले गर्नुहुनेछ ।