बैशाख २८, २०८२ आईतबार

एक्सेल बैंकले प्रदेशको १४ जिल्लामा सेवा विस्तार गर्ने घोषणा

बिर्तामोड । प्रदेश नं. १ कै ठूलो विकास बैंकको रुपमा पहिचान बनाएको एक्सेल डेभलपमेन्ट बैंकले प्रदेशको १४ जिल्लामै सेवा विस्तार गर्ने घोषणा गरेको छ । शनिवार विर्तामोडमा सम्पन्न बैंकको १५ औं वार्षिक साधारणसभामा उक्त घोषणा गरिएको हो ।

सभाले सञ्चालक सदस्यमा पर्शुराम दाहाल, पुरुषोत्तम लम्साल र पेशलराज पोखरेललाई निर्विरोध चयन गरेको छ । सिद्धार्थ होटलमा बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलको अध्यक्षतामा भएको सभामा आर्थिक लगायतका विभिन्न प्रतिवेदन पारित भएका छन् भने संस्थाको आगामी रोडम्याप अनुमोदन गरिएको छ ।

पाँच जिल्ला कार्यक्षेत्र रहेको यो बैंक आगामी दुई महिनापछि प्रदेशका १४ वटै जिल्लामा विस्तार हुने र प्रदेशको सबैभन्दा ठूलो बैंकको रुपमा स्थापित हुने सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलले बताएका छन् । यसका लागि बैंकले पूँजी वृद्धि गर्न हकप्रद शेयर सर्वसाधारणका लागि जारी गर्ने नीति पारित गरेको बैंकका कामु प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले बताए । कोरोना महामारीका बीच समेत ६० प्रतिशत मुनाफा वृद्धि गर्न सफल एक्सेल बैंकका हाल एक लाख ५० हजार ग्राहक छन् ।

स्वतन्त्र सञ्चालक सदस्य शुषमा शर्मा वस्तीले स्वागत र कम्पनीका सचिव श्यामबहादुर बोहोराले सञ्चालन गरेको सभामा बैंकका पूर्व अध्यक्ष हेमराज ढकाल, संस्थापक सञ्चालक डा. रुपक खनाल, संस्थापक सञ्चालक सुरेश बंशल, निवर्तमान सीइओ दिनेशकुमार पोखरेलले बैंकका गतिविधि र प्रगतिको चर्चा गरेका थिए ।

बैंकले एक सातापछि पूँजी वृद्धिका लागि २४ करोडभन्दा बढीको हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ । पाँच जिल्ला कार्यक्षेत्र भएको एक्सेलले कार्यक्षेत्र विस्तार गरी प्रदेश नं. १ का १४ वटै जिल्लामा सेवा पुर्याउने लक्ष्यका साथ सर्वसाधारणका लागि शेयर जारी गर्न लागेको हो ।

बैंकसँग चुक्ता शेयर पूँजी ८१ करोड ११ लाख २१ हजार २२४ रुपैयाँ थियो । अब त्यसको ३० प्रतिशत पूँजी बढाउन बैंकले शेयर जारी गर्ने निर्णय गरेको बैंकका सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलले जानकारी दिए । यही असोज २५ गते शेयर निष्काशन हुने अध्यक्ष गोयलले बताएका छन् । प्रदेशकै ठूलो स्थानीय बैंकको रुपमा रहेको एक्सेलमा हाल ११ अर्ब रुपैयाँ निक्षेप र १० अर्ब रुपैयाँ लगानी रहेको छ ।

प्रकाशित मिति : आश्विन १६, २०७८ शनिबार  ७ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]